साक्षरतामा देशका सबै जिल्लामध्ये पुछारमा रहेको रौतहटमा त्रिभुवन विश्वविद्यालयले एक साथ दुई क्याम्पसलाई स्नातकोत्तर तह सञ्चालनको अनुमति दिन लागेको छ । अहिलेको खेपमा देशमा तेइस क्याम्पसले एमबिएसको अनुमति पाउँदा प्रदेश दुईका तीनवटा क्याम्पसले पाउनु सन्तोषजनक देखिन्छ । झन् देशको सबेभन्दा पछाडि परेको जिल्लाले प्रदेशका तीनमध्ये दुईवटा पाउन अझ सन्तोषको पक्ष रहेको छ । प्रदेशमा शिक्षाको आवश्यकता रहेको र रौतहटमा अझ बढी आवश्यकता रहेको यस तथ्यले पनि साबित गरिसकेको छ ।
अब रौतहटमा तीनवटा क्याम्पसमा स्नातकोत्तर भएको छ । संयोगले उत्तरमा चन्द्रनिगाहपुर, बीचमा गरुडा र दक्षिणमा गौरमा स्नातकोत्तर तहको कक्षा सञ्चालन हुनु खुसीको कुरा हो । जिल्लामा झन्डै डेढ दर्जन स्नातक क्याम्पस हुँदा त तीनवटामा स्नातक हुनुलाई तुलनात्मक दृष्टिकोणले कम नै मान्नु पर्दछ । यद्यपि अब भने केही हदसम्म राम्रो भएको मान्नु पर्ने देखिन्छ । क्याम्पस हुनु आफैमा राम्रो पक्ष हो भने यसमा पठनपाठन हुनु तथा यसको सञ्चालन र व्यवस्थापन राम्रो हुनु अझ राम्रो पक्ष हो ।
अबको समयमा शिक्षामा पनि स्नातकोत्तरको आवश्यकता रहेको छ किनभने जिल्लाका अधिकांश स्नातक क्याम्पसमा बिएड रहेको छ । अहिले जिल्लामा सयौँ यस्ता विद्यार्थी छन् जो बिएड उत्तीर्ण गरिसकेका छन् तर बाहिर पढ्न जाने अवस्थामा छैनन् । अझ मध्यरौतहटमा बिएड उत्तीर्णलाई एमएड पढ्ने अवसर प्राप्त भयो भने पर्याप्त विद्यार्थी पाउने सम्भावना देखिन्छ ।