भदौ – १९
दोहोरो लकडाउनकै बीच वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाह नाकाबाट आश्चर्यजनक रुपमा बढेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष यो नाका हुँदै मदिराको आयात बढेको हो । लकडाउनकै अवधिमा बजार तथा होटल एवम् पर्यटन व्यवसाय बन्द थिए भने सर्वसाधारणलाई पनि मदिरा सेवन गर्न निरुत्साहित गरिएको थियो । सीमावर्ती जिल्लाहरुमा मदिरा सेवनका लागि भारतीयहरु आउने गरेकोमा लकडाउनमा उनीहरु पनि आउन पाएका थिएनन् ।
बन्दरगाहस्थित भन्सार कार्यालयको तथ्यांकअनुसार, गत आवमा यो नाका हुँदै ९० करोड ३८ लाख ४८ हजार ९ सय ५९ रुपैयाँ बराबरको ४ लाख ३९ हजार ७ सय ९१ लिटर मदिरा आयात भएको छ । जसबाट १ अर्ब ५८ करोड २९ लाख ८५ हजार २ सय ६० रुपैयाँ राजस्व संकलन भएको छ । राजस्व संकलनको दृष्टिले यो भन्सार नाकाबाट गत आवमा आयात भएका प्रमुख बस्तुहरुको सूचीमा मदिरा तेश्रो नम्बरमा परेको छ ।
अघिल्लो आवमा यो नाका हँुदै ७१ करोड १९ लाख ५९ हजार १ सय ८३ रुपैयाँ बराबरको ३ लाख ७३ हजार २ सय ३९ लिटर मदिरा आयात भएको थियो । जसबाट ८८ करोड ३७ लाख ९४ हजार ७ सय २९ रुपैयाँ राजस्व संकलन भएको थियो । अघिल्लो आवमा राजस्व संकलनको दृष्टिले यो भन्सार नाकाबाट आयात भएका बस्तुहरुको सूचीमा मदिरा छैटौं नम्बरमा परेको थियो ।
यसरी तुलनात्मक रुपमा अघिल्लो आवभन्दा गत आवमा ६६ हजार ५ सय ५२ लिटर बढी मदिरा आयात भएको छ । सिर्सिया सुख्खा बन्दरगाह नाका मदिरा आयात हुने मुलुककै प्रमुख नाका हो ।
बन्दरगाहस्थित भन्सार कार्यालयका सूचना अधिकृत चुडामणि शर्मा कट्टेलले लकडाउनको अवधिमा सर्वसाधारण घरमै बढी बसेको र त्यस क्रममा मदिरा सेवनकर्ताहरुले घरमा मदिरा सञ्चय गरेकाले मदिराको माग बढेको हुन सक्ने अनुमान गरे । त्यसबाहेक बर्सेनि जेठ १५ मा हुने संघीय बजेट भाषणबाट मदिरा आयातमा शुल्क वृद्धिको अनुमान गरेर पनि आयातकर्ताहरुले बढी मदिरा आयात गरेको हुन सक्ने उनले बताए । ‘गत आवमा पनि संघीय बजेट भाषणअघि नै यो नाकाबाट मदिराको आयात तुलात्मक रुपमा बढेको थियो,’उनले भने, ‘त्यति बेला आयातकर्ताहरुले बैंकबाट लोन लिएरै भए पनि मदिरा आयात गर्छन् ।’
यो नाका हुँदै बियर, वाइन, ह्विस्की/भोड्का आदि बढी भित्रिन्छ । कोलकाता बन्दरगाहसम्म पानीजहाजमा र त्यहाँबाट रेलमा मदिरा आयात गरिन्छ । यसरी रेलमार्गबाट आयात गर्दा सस्तो र क्षति पनि कम हुने गर्दा आयातकर्ताले तेश्रो मुलुकबाट मदिरा आयात गर्न यो नाका रुचाउँछन् ।
नेपालमा स्कटल्यान्डबाट जोनीवाकर, भ्याट–६९, टिचर्स, अमेरिकाबाट जिमबिम, बेलायतबाट चिवास रिगल आदि ब्राण्डका ह्विस्की बढी आयात हुने गरेको छ । ह्विस्कीमा त्यसको अल्कोहलको मात्राको प्रतिशत (अन्डर प्रुफ) को आधारमा अन्तशुल्क, भन्सार शुल्क लाग्ने गर्दछ । त्यसबाहेक मूल्य अभिवृद्धि करसमेत लाग्छ ।
सामान्य अवस्थामा यो भन्सारको राजस्वमा मदिराको योगदान बढी हुने गरेको कट्टेल बताउँछन् । ‘१ कन्टेनर ह्विस्कीले १ करोड ५० लाखदेखि २ करोड ५० लाख रुपैयाँसम्म राजस्व दिन्छ,’ उनले भने, ‘त्यसैगरी १ कन्टेनर वाइनले ७०/८० लाख रुपैयाँसम्म राजस्वमा योगदान गर्छ ।’