रौतहट,२३ असार। रौतहटको गरुडा–३, मलाही टोलकी ३० वर्षीया मनीषा सहनीलाई २०८० चैत २१ गतेको घटना सम्झिन पनि मन लाग्दैन मकवानपुरको राक्सीराङ गाउँपालिका–९ खैराङस्थित कालिका माध्यमिक विद्यालयमा पढाउने उनका ४० वर्षीय पति मनोज त्यस दिन छुट्टीमा घर आएका थिए ।
तरकारी खेतीमा पानी लगाउन मोटर चलाउने क्रममा उनलाई करेन्ट लाग्यो । घटनाका बेला मनीषा र ६९ वर्षीय बुबा विश्वनाथ छेवैमा थिए । मोटरको तार छुँदा मनोज एक्कासि ढले । हारगुहार माग्दामाग्दै उनको प्राण उड्यो । मनीषाको घरमा जस्तै घटना भयो, सर्लाहीको ईश्वरपुर नगरपालिका–९ स्थित रामनगरका ३३ वर्षीय राम महतोको घरमा पनि ।
घटना वैशाख २८ साँझको हो । घरअगाडिको विद्युत् पोलमा तानिएको इन्टरनेटको तार तल भुइँमा लत्रिएको थियो । छिमेकका एक बालक लत्रेको तारमा अल्झिएर लडेको देखेपछि राम दौडिँदै उठाउन पुगे । लत्रिएको तार छेउतिर तान्न लागेका बेला रामलाई करेन्ट लाग्यो । उनी भुइँमा ढलेको देखेपछि आँगनमा रहेकी रामकी श्रीमती कसुम दौडिँदै पुगिन् । कसोकसो उनले श्रीमान्लाई करेन्ट प्रवाह भइरहेको तारबाट छुटाइन् । तर उनी भने त्यही बेला करेन्ट लागेर ढलिन् ।
विद्युतीय जलनले गम्भीर घाइते भएका रामले हेर्दाहेर्दै कुसुमको ज्यान गयो । यस घटनापछि राम हरेक दिन घरअघिको विद्युत्को पोल देख्दा श्रीमतीको यादले भावुक हुन्छन् । घर आँगनमा आएको विद्युत्को उज्यालोसँगै आइपरेको अँध्यारो भोग्न बाध्य मनीषा र रामजस्ता थुप्रै पात्र मधेशमा छन् । गरुडा–२ गेडहीगुठी गाउँका दिनेश सहनीको परिवारमा विद्युत्ले निम्त्याएको शोकको कथा झनै गहिरो छ । घटना २०७९ भदौ १५ दिउँसोको हो । घरमा कोही थिएनन् ।
दिनेश काम विशेषले घरबाहिर थिए । आमा सुगन्धीदेवी पूजा गर्न मन्दिर गएकी थिइन् । १४ वर्षीय छोरी अमरिका स्कुलबाट फर्केर मोटर चलाएर चिसो पानी पिउन लागेकी थिइन् । त्यही बेला कसोकसो उनलाई करेन्ट लाग्यो । छिमेकीले अमिरा ढलेको खबर दिनेश र सुगन्धीलाई गरे । छोरीलाई करेन्ट लागेको खबर सुन्नासाथ सुगन्धी बाटोमै ढलिन् । उनको होस आउँदा उपचार गर्न भन्दै गरुडा अस्पताल पु¥याएकी छोरी अमरियाले संसार छोडिसकेकी थिइन् ।
दिनेशले भने, ‘बिहान विद्यालय जान लाग्दा छोरी राम्ररी जाऊ है भन्ने शब्द नै अन्तिम बन्यो ।’ छोरीको मृत्युको घटनापछि दिनेशले धाराबाट मोटर हटाए । घटनाबारे विद्युत् प्राधिकरणमा पनि जानकारी गराए । तर प्राधिकरणले यस्तो घटनाबारे अनदेखा ग¥यो । गरुडा–३ का वडाध्यक्ष अम्बिका सहनीले पछिल्लो समय विद्युत् प्राधिकरणको लापरबाही र नागरिक सचेत नहुँदा करेन्ट लागेर मृत्यु हुने घटना बढेको सुनाए ।गत वर्षको मंसिर २३ गतेको घटना हो ।
सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–२ स्थित खेतमा चैते धान रोप्नका लागि जोतिरहेको ज१त ४३१४ नम्बरको ट्र्याक्टरमा अचानक करेन्ट प्रवाह हुँदा सोही ठाउँका २७ वर्षीय चालक राजेश पासवानको मृत्यु भएको थियो । नेपाल विद्युत् प्राधिकरण मधेश प्रदेशका अनुसार पछिल्लो ५ वर्षमा विद्युत्कै कारण दुर्घटनामा परेर मृत्यु भएका मध्ये ३५ जनालाई जनही ५ लाख रुपैयाँ क्षतिपूर्ति दिएको छ । सिरहाका ५, धनुषाका १४, महोत्तरीका ३, सर्लाहीका ४, रौतहतका ६, बाराका ५ र पर्साका १ मृतक परिवारका सदस्यले क्षतिपूर्ति पाएका हुन् ।
यो तथ्यांकले करेन्ट लागेर मृत्यु भएकामध्ये ३८ प्रतिशतले मात्रै क्षतिपूर्ति पाएको देखिन्छ ।मधेश प्रदेशका उद्योग तथा पर्यटनमन्त्री युवराज भट्टराई विद्युत्बाट हुने दुर्घटना कम गर्न गाउँ÷गाउँमा सचेतना कार्यक्रम गर्नुपर्ने बताउँछन् ।