वर्तमानकाल सम्वाददाता
मंसिर ०४ गते ।
सिल प्याक गरिएको खानेपानीको गुणस्तरमाथि उठिरहेका प्रश्नहरूलाई थप बल पुगेको छ । बाराको सदरमुकाम कलैयामा आयोजना गरिएको एक कार्यक्रममा वितरण गरिएको “स्टार एकवा” ब्रान्डको पानीको बोतलभित्र मरेको किरा भेटिएको छ । घटना बाराको मुख्य भरत चौकस्थित उद्योग वाणिज्य सङ्घको सभा हलमा आयोजित कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ बाराको ७ औँ वार्षिक साधारण सभा तथा ५औँ अधिवेशनका क्रममा सार्वजनिक भएको हो ।
सहभागीहरूको लागि वितरण गरिएको उक्त पानीको बोतलमा मरेको किरा भेटिएपछि कार्यक्रमको माहौलमा चर्चा चलेको थियो ।
कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ बाराका अध्यक्ष सञ्जय कुमार केशरीले घटनाबारे आफूलाई जानकारी नभएको बताउँदै भने, “हामीले स्थानीय पसलबाट कार्टुनसहित पानी खरिद गरेका थियौँ । यसको गुणस्तरबारे थाहा पाउने कुनै उपाय थिएन ।” उनले उपभोक्ताको स्वास्थ्यसँग खेलबाड गर्नेलाई कडा कारबाही गर्न माग गरेका छन् ।
“स्टार एकवा” कम्पनीको पहिचान स्टार एकवा ब्रान्डको पानी वीरगञ्ज फुड इन्डस्ट्रिज प्रालिले उत्पादन गर्ने गरेको छ । कम्पनी बाराको जीतपुरमा अवस्थित छ भने यसको कार्यालय पर्साको फूलबारी टोल, वीरगञ्जमा रहेको छ । सिल प्याक गरिएको खानेपानीको गुणस्तरमाथि यसरी बारम्बार प्रश्न उठ्नुले उपभोक्ताहरूको स्वास्थ्य सुरक्षालाई चुनौती दिएको छ । सम्बन्धित निकायले यस्ता घटनाप्रति गम्भीर ध्यान दिनु आवश्यक देखिएको छ ।