रौतहट,२३ असार। मधेस प्रदेशका मुख्यमन्त्री शतिस सिंहले चार दलका ६ जना मन्त्रीलाई बर्खास्त गरेका छन् । मुख्यमन्त्री सिंहले एमाले र जनतमबाहेकका सबै मन्त्रीहरूलाई बर्खास्त गरेका हुन् ।
मुख्यमन्त्री सिंहले आइबार मध्यान्ह माओवादीका २, एकीकृत समाजवादीका २ र साना दलबाट बनेका २ जना मन्त्रीलाई बर्खास्त गरेको पत्र प्रदेश प्रमुखको कार्यालयमा बुझाएका छन् । मुख्यमन्त्री सिंहले पत्रकारसँग कुरा गर्दै भने, ‘प्रदेश प्रमुख सुमित्रा भण्डारीज्यूलाई मन्त्रिपरिषद् पुनर्गठन गरेको पत्र बुझाइसकेको छु, ४ दलका ६ जना मन्त्रीलाई बर्खास्त गरिएको छ ।
केन्द्रमा नयाँ समीकरण बनेपछि उक्त समीकरण अनुसार प्रदेशबाट माओवादी, एकीकृत समाजवादी र २ साना दलका मन्त्रीहरूलाई मुख्यमन्त्री सिंहले हटाएका हुन् । माओवादीका अर्थमन्त्री भरत साह, उद्योग मन्त्री युवराज भट्टराई, र एकीकृत समाजवादीका भूमि व्यवस्था मन्त्री गोविन्द न्यौपाने तथा ऊर्जा मन्त्री बेची लुङ्गेली मुख्यमन्त्री सिंहले हटाएका हुन् ।
यसैगरी मुख्यमन्त्री सिंहले नागरिक उन्मुक्ति पार्टीका श्रम मन्त्री उर्मिला सिंह र नेपाल संघीय समाजवादीका गृह तथा सञ्चार मन्त्री विमला अन्सारीलाई शनिबार बर्खास्त गरेका छन् । मुख्यमन्त्री सिंहले बर्खास्त गरेका मन्त्रालयहरूमा आजै कांग्रेस र लोसपालाई दिने तयारी भइरहेको स्रोतले जानकारी दिएको छ । कांग्रेसले ४ मन्त्री र २ जना राज्यमन्त्री लिएर सरकारमा सहभागी हुँदैछ भने लोसपाको अहिलेसम्म टुङ्गो लागेको छैन । स्रोतका अनुसार लोसपाले २ वटा मन्त्रालय मागिरहेको छ ।
तर मुख्यमन्त्रीज्यूले एउटा लिएर सरकारमा सहभागी हुन अनुरोध गरिरहेको बताइएको छ । त्यसकारण भागबन्डामा सहमति हुन नसकेको स्रोतले जानकारी दिएको छ । यसैबिच मुख्यमन्त्री सिंहले मन्त्रिपरिषद् पुनर्गठन गर्न लाग्दा बर्खास्त गरिएका दलहरूलाई धन्यावाद ज्ञापन गरेका छन् ।
प्रदेश प्रमुखको कार्यालयमा बर्खास्तको पत्र बुझाउनु अघि एक पत्रकार सम्मेलन गरी अहिलेसम्म सरकारमा सहभागी भएका ४ वटै दललाई धन्यवाद ज्ञापन गरेका हुन् । पत्रकार सम्मेलनमार्फत उनले भने, ‘अहिलेसम्म मलाई सबैलाई सहयोग गर्नु भएको छ, त्यसमा कुनै शङ्का छैन । तर राजनीतिक परिस्थितिका कारण समीकरण परिवर्तन गर्नु परेको छ । त्यही कारण यो अवस्था सृजना भएको हो ।’