रौशन कुमार चौधरी
मंसिर ०५, रौतहट
रौतहट जिल्लाको कटहरिया नगरपालिकाका नगर प्रमुख अजय प्रकाश जैसवालले शिक्षा क्षेत्रलाई सुदृढ बनाउन महत्वपूर्ण कदम चालेका छन् । नगरका विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा र अवसर प्रदान गर्ने उद्देश्यले उनले आफ्नै नगरभित्र लोकसेवा आयोग र शिक्षक सेवा आयोगको तयारी कक्षा सञ्चालन गर्ने घोषणा गर्नु भएका छन् । बुधबार आयोजित पत्रकार सम्मेलनमा नगर प्रमुख जैसवालले मंसिर महिनाको अन्तिम सातादेखि कक्षा सञ्चालन गरिने जानकारी दिएका छन । उनका अनुसार, नगरका युवाहरूलाई काठमाडौं, जनकपुर र हेटौंडा जस्ता सहरमा गएर तयारी गर्नुपर्ने अवस्थाको अन्त्य गर्न र समय तथा पैसाको बचत गराउन यो कदम उठाइएको बताउनु भयो ।
त्यति मात्र नभएर यस कार्यका लागि आवश्यक स्रोतसाधन र व्यवस्थापन गर्न पूर्ण सहयोग गर्ने नगर प्रमुख जैसवालले प्रतिवद्धता जनाउनुभयो । नगरका विद्यार्थीहरूलाई लोकसेवा र शिक्षक सेवा आयोगको तयारीका लागि बाहिर जानु नपरोस् भन्ने उद्देश्यले यो कार्यक्रम ल्याइएको बताउनु भयो । “नगरका गरिब, विपन्न तथा मध्यम वर्गीय परिवारका विद्यार्थीहरूलाई लोकसेवा र शिक्षक सेवा आयोगका तयारीका लागि बाहिर जानुपर्दा धेरै आर्थिक र मानसिक तनाव खेप्नुपर्छ । यसबाट उनीहरूलाई राहत मिल्नेछ,” भनि आशा राखेको छु, नगर प्रमुख जैसवालले बताए ।
वहाँले भन्नु भयो “शिक्षा विकास हाम्रो मुख्य प्राथमिकता हो । नगरमा विकास निर्माणका कामहरू कम भए पनि शिक्षामा कुनै पनि प्रकारको सम्झौता गरिने छैन।“ उनले यो कार्यक्रमले विशेषगरी नगरका गरिब वर्गका विद्यार्थीहरूलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे । शिक्षा क्षेत्रको सुधार र गुणस्तरमा कुनै प्रकारको सम्झौता नगर्ने आफ्नो अडान स्पष्ट पार्दै उनले भने, “नगरको विकास निर्माणका काममा केही ढिलाइ भए पनि शिक्षा क्षेत्रमा हामीले कुनै सम्झौता गर्नेछैनौं । गुणस्तरीय शिक्षाको लागि आवश्यक पर्ने स्रोतसाधन जुटाउन नगरपालिकाले हरसम्भव प्रयास गर्नेछ ।”
लोकसेवा तयारी कक्षा सञ्चालनका लागि आवश्यक संरचना, योग्य प्रशिक्षक र पठनपाठन सामग्रीको व्यवस्थापनमा नगरपालिकाले विशेष ध्यान दिने प्रतिबद्धता जनाएको छ । नगर प्रमुख जैसवालले शिक्षक सेवा आयोग र लोकसेवा आयोगको कक्षा त्यारी गर्ने बिधार्थीहरुलाई १५ दिन भित्र फारम भर्न नगरपालिकामा सम्पर्क गर्न अनुरोध समेत गर्नु भएका छन । नगर प्रमुख जैसवालका अनुसार, यस कार्यक्रमलाई प्रभावकारी बनाउन अन्य सरोकारवालाहरूसँग पनि सहकार्य गरिनेछ ।
कटहरिया नगरपालिकाका स्थानीयवासीहरूले यो निर्णयलाई स्वागत गरेका छन् । विद्यार्थीहरूलाई आफ्नै नगरमा प्रतिस्पर्धात्मक परीक्षा तयारीको अवसर प्रदान गर्नुले शैक्षिक क्षेत्रमा ऐतिहासिक परिवर्तन ल्याउने विश्वास व्यक्त गरिएको छ । यस कदमले न केवल शिक्षा क्षेत्रमा नयाँ आयाम थप्नेछ, तर नगरपालिकाभित्र स्वावलम्बी र दक्ष जनशक्ति उत्पादन गर्ने दीर्घकालीन लक्ष्यलाई पनि साथ दिनेछ। नगरपालिकाको यो निर्णयले स्थानीय तहमा शिक्षाको स्तरलाई सुधार गर्न ठूलो टेवा पु¥याउने विश्वास गरिएको छ ।
कार्यक्रम सञ्चालनका लागि स्थानीय विद्यालयहरूलाई सहयोगी भूमिका दिन आह्वान गरिएको छ । यस निर्णयलाई स्थानीय विद्यार्थी र अभिभावकहरूले सकारात्मक रूपमा लिएका छन् । नगर प्रमुख जैसवालले आगामी दिनमा शिक्षाका अन्य पहलहरू पनि अघि बढाइने संकेत गर्दै सबैलाई यस अभियानमा सहकार्य गर्न आग्रह गर्नुभएको छ।