रमेश कुमार यादब
असोज २३, रौतहट
रौतहट जिल्लाको बृन्दावन नगरपालिकाको वार्ड नं. १, २, र ३ द्वारा संयुक्त रुपमा आयोजना गरिएको दुर्गा मेला पूजा अन्तर्गत विधिवत् बेल नवतन कार्यक्रम सम्पन्न भएको छ। यो कार्यक्रम हरेक वर्ष परम्परागत रूपमा सम्पन्न गरिन्छ र यस पटक पनि सोही अनुसार विशेष भव्यताका साथ मनाइएको छ । रौतहटको यस क्षेत्रमा दसैँ पर्वलाई ‘दशहरा’ भनिन्छ ।
शारदीय नवरात्र पनि भनिने यस पर्वको छैटौँ दिन रौतहटको बिभिन्न ठाउँमा ‘बेलनौत’ विधि सम्पन्न गरिएको छ ।। सोहि अनुरुप जिल्लाको बृन्दावन नगरपालिकामा नवरात्रको छैटौँ दिन अर्थात् षष्ठी तिथिका दिन यो विधि अनुसार गरिएका परम्परा छ । पर्वका अवसरमा माटो मुछेर बनाइएका देवी दुर्गाका प्रतिमाका आँखा उघार्ने प्रयोजनका लागि ‘बेलनौत’ विधि आयोजन गरिने पुरानो परम्परा रहेको हो । सो कार्यक्रममा प्रमुख आकर्षणका रूपमा दुर्गा मेला पण्डालमा माटो मुछेर निर्माण गरिएको देवी दुर्गाको प्रतिमाका आँखा उघार्ने बेल नवतन विधि रहेको थियो ।
यस परम्परालाई पुरानो समयदेखि नै निरन्तरता दिँदै आइरहेको जानकारी बृन्दावन नगरपालिकाका पूर्व नगर प्रमुख रामस्नेही राय यादवले दिए । उनले भने, “बेल नवतन विधि परापूर्वकालदेखि नै चल्दै आएको हो र यो हाम्रो धार्मिक तथा सांस्कृतिक परम्पराको अभिन्न हिस्सा हो । यसले देवी दुर्गाको प्रतिमामा प्राण प्रतिष्ठा गर्ने र आँखाहरू खोल्ने प्रक्रियालाई विशेष महत्त्व दिइन्छ ।“वहाँले भने दशहारा (बडादसैँ) पर्वमा माटो मुछेर बनाइएका देवी प्रतिमाका आँखा सप्तमीका दिन खोल्न (उघार्न) बेल (फल)को भेट्नो प्रयोग गरिने परम्परा छ ।
यसका लागि एक दिनअघि षष्ठी तिथिका दिन मध्याह्नपछि देवी प्रतिमास्थलबाट बाजागाजासाथ बस्ती नजिकको बेलको रुखमा चढेर एउटा बेल फललाई रातो रुमालले बाँध्ने विधिलाई नै ‘बेलनौत’ भन्ने गरिन्छ । यही विधि उल्लासमय वातावरणमा आज हामि हिन्दु परम्परा अनुसार सम्पन्न गरिरहेको छु उनले भने । षष्ठीका दिन वैदिक मन्त्रोच्चारणसहित निम्तो गरेर बाँधिएको बेलको फल भेट्नु सहित सप्तमीका दिन बिहानै टिपेर सोही फलको भेट्नुले प्रतिमाको आँखा कोट्याएर उघार्ने गरिन्छ । देवी प्रतिमाको आँखा उघार्न शास्त्रले पवित्र मानेको बेल फलको भेट्नो प्रयोग गर्ने परम्परा अनुसार सो प्रयोजनका लागि बेलको फललाई निम्तो गर्ने भाव यो विधिमा रहेको पुरोहितहरुले बताउँछन् ।
आँखा उघारिएपछि प्रतिमा पूर्ण सजीव भएको मानिने बृन्दावन नगरपालिकाको वार्ड नं.२ का बासिन्दा बैधनाथ झा बताउँछन । सप्तमीका दिन एक दिनअघि निम्तो गरिएको बेलको फल भेट्नोसहित टिपेर ल्याई पुरोहित ब्राह्मणले भेट्नोले खोस्रेर प्रतिमाको आँखा उघारिदिएपछि मात्र देवी प्रतिमा सर्वसाधारणको दर्शनका लागि खुला गरिन्छ । सप्तमीका दिन बिहान एक दिनअघि निम्ता गरिएको बेल टिप्न पनि बाजागाजासाथ पुग्ने चलन छ ।
बेल टिप्ने यो विधिलाई ‘बेलतोडी’ भनिने गरिएको परम्पराका जानकार सोहि पालिका निवासि चुनचुन झा बताउँछन कार्यक्रमको क्रममा नगरपालिकाका हजारौँ श्रद्धालु भक्तजनहरूको सहभागितामा नगर परिक्रमा गरिएको थियो । पालिकाको वडा नं. ३ स्थित सिसो गाछी अर्थात् हनुमान चौकमा मुख्य रूपमा दुर्गा मेला पूजा आयोजना गरिएको थियो।
नगर परिक्रमा पछि आयोजित धार्मिक तथा सांस्कृतिक गतिविधिहरूमा स्थानीय कलाकारहरूले नाचगान प्रस्तुत गरेका थिए, जसले भक्तजनहरूलाई मनोरञ्जन प्रदान गर्यो । दुर्गा मेला पूजा केवल धार्मिक क्रियाकलापमा सीमित नभई स्थानीय समाजको एकता, संस्कृति, र धार्मिक आस्थाको प्रतिकको रूपमा पनि हेरिन्छ ।
यस अवसरमा नगरपालिकाका अन्य प्रतिष्ठित व्यक्तिहरूले पनि आफ्नो मन्तव्य राखेका थिए, जसमा नगरको विकास र सांस्कृतिक संरक्षणका विषयमा जोड दिइयो। बृन्दावन नगरपालिकाका स्थानीय बासिन्दाल हरेक वर्ष दुर्गा मेला पूजा पर्वलाई अझ भव्य र व्यवस्थित ढंगले आयोजना गर्दै आएका छन्, जसले यस क्षेत्रको सांस्कृतिक पहिचानलाई कायम राख्न महत्वपूर्ण भूमिका खेलेको छ।