रौतहट,०७ मंसिर। जिल्ला रौतहटको गढी माई नगरपालिका-९ का वडाध्यक्ष हरिश्चन्द्र सहनीसहित चार जनाविरुद्ध जुत्ताको माला लगाएर सर्वसाधारणलाई अपमानजनक व्यवहार गरेको आरोपमा मुद्दा दर्ता गरिएको छ ।
इलाका प्रहरी कार्यालय गरुडाका अनुसार, गढीमाई – ९ वडाध्यक्ष सहनी र अन्य तीन जनाले गरूडा नगरपालिका-३ मलाही बस्ने परीक्षण सहनी र माधवनारायण नगरपालिका-७ लौकाहाका राजु सहनीलाई जुत्ताको माला लगाई अपमानजनक र अमानवीय व्यवहार गरेको आरोप छ ।
प्रहरीका अनुसार, गत मङ्गलवार गरूडा बजारबाट घर जाँदै गरेका ती दुवैलाई चाँदीपुल नजिकै मोटरसाइकल रोकी गालीगलौज गर्दै कुटपिट गरिनुका साथै जुत्ताको माला लगाई बजारभरि घुमाइएको थियो ।घटनामा संलग्न वडाध्यक्ष हरिश्चन्द्र सहनी हाल फरार रहेको र अन्य तीन अभियुक्त—सोनेलाल सहनी, सनम सहनी र शैलेन्द्र सहनीलाई सोही दिन पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ । चारै जनाविरुद्ध अपमानजनक र अमानवीय व्यवहारसम्बन्धी मुद्दा दायर गरी रौतहट जिल्ला अदालतबाट म्याद थप गरिएको रौतहट प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) दीपक कुमार रायले बताएका छन् ।
फरार वडाध्यक्षको खोजी कार्य तीव्र पारिएको र घटनाको विस्तृत अनुसन्धान जारी रहेको जनाइएको छ ।सर्वसाधारणमाथि जुत्ताको माला लगाएर गरेको अमानवीय व्यवहारले स्थानीय स्तरमा चासो र आक्रोश बढाएको छ । पीडितहरूले न्यायको माग गर्दै दोषीमाथि कडा कारबाहीको माग गरेका छन् ।