‘फेक रेस्क्यु’ प्रकरणमा ३३ प्रतिवादी, अनुसन्धान प्रतिवेदन बुझाइयो

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र ३, मंगलबार (१ महिना अघि)
  • ११४ पटक पढिएको
‘फेक रेस्क्यु’ प्रकरणमा ३३ प्रतिवादी, अनुसन्धान प्रतिवेदन बुझाइयो

काठमाडौँ, ०३ चैत। पर्वतारोहण र ट्रेकिङ्ग क्षेत्रमा पर्यटकको ‘फेक रेस्क्यु’ (नक्कली उद्धार) गरेर अवैध बीमा रकम दाबी गर्नेमा ३३ जनाको संलग्नता देखिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान पूरा गरेर सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको छ ।

सन् २०२२ यता भएको ‘फेक रेस्क्यु’मा ३३ जना संलग्न रहेको अनुसन्धानबाट थाहा भएको सीआईबीका एआईजी डा. मनोज केसीले बताए ।

सीआईबीले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा बुझाएको अनुसन्धान प्रतिवेदनमा ३३ जनालाई प्रतिवादी कायम गर्नुपर्ने राय दिइएको छ । पर्यटकको ‘फेक रेस्क्यु’ गरेर स्वास्थ्य बीमा दाबी गर्दै नाफा आर्जन गरेको आरोपमा १० जना पक्राउ परेका छन् । प्रहरीले थप २३ जनालाई फरार प्रतिवादी बनाएर अदालतमा अभियोगपत्र दायर गर्न सरकारी वकिललाई राय दिएको हो ।

‘फेक रेस्क्यु’मा संलग्नहरूलाई राष्ट्र हित प्रतिकूलको कसुर, आपराधिक लाभ, लिखत सम्बन्धी कसुर र संगठित अपराधसहितको एकीकृत कसुरमा अभियोजन गर्नुपर्ने प्रहरीको राय छ । सो प्रकरणमा श्रीद्धी इन्टरनेशनल अस्पतालका सञ्चालक डा. गिर्वाणराज तिमिल्सिना, रोयल होलिडेज एडभेन्चर एण्ड ट्राभल कम्पनीका सञ्चालक सन्दिप तिवारी, माउन्टेन रेस्क्यु सर्भिस प्रालिका सञ्चालक जयराम रिमाल, म्यानेजर विवेक पाण्डे, नेपाल चार्टर्ड सर्भिसका सञ्चालक रविन्द्र अधिकारी र अप्रेसन म्यानेजर विवेक राज थपलिया पक्राउ परेका छन् ।

एभरेष्ट एक्सपेरियन्स एण्ड एसोसिएट्स प्रालिका सञ्चालक मुक्ति पाण्डे र म्यानेजर सुभाष केसी, पानोरमा हिमालय ट्रेकिङ्ग एण्ड एक्स्पीडिसन प्रालिका सञ्चालक पासाङ शेर्पा र हवाई व्यवस्थापन विज्ञ राजेन्द्रबहादुर सिंह पनि थुनामा छन् ।

‘फेक रेस्क्यु’बारे २०८१ माघ ११ मा जाहेरी दर्ता गरेर प्रहरीले अनुसन्धान अघि बढाएको थियो । करिब डेढ महिना अनुसन्धान गरेर प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएको हो ।

आरोपितहरूसँग ९४ करोड ८४ लाख नेपाली रुपैयाँ, २९ लाख ९८ हजार अमेरिकी डलर र १४ हजार युरो बिगो मागदाबी लिनुपर्ने प्रहरीको राय छ । ‘फेक रेस्क्यु’मा १६ वटा ट्रेकिङ्ग कम्पनी, ५ वटा रेस्क्यु कम्पनी, ३ वटा अस्पताल, ४ वटा हेलिकप्टर कम्पनी र अन्तर्राष्ट्रिय बीमा कम्पनीका ३ जना लोकल एजेन्ट संलग्न देखिएका छन् । एक जना गाइड पनि सो प्रकरणमा संलग्न देखिएको अनुसन्धानमा संलग्न प्रहरी अधिकृत बताउँछन् ।

‘फेक रेस्क्यु’मा संलग्न आरोपितहरू धेरै कम्पनीमा आवद्ध पाइएको जानकारी दिँदै सीआईबीका प्रमुख (एआईजी) केसीले ३३ जनालाई प्रतिवादी कायम गरेर अनुसन्धान प्रतिवेदन बुझाइएको बताए ।

  • बिरामीलाई सपिङ गर्न पठाउने अस्पताल

लाजिम्पाटस्थित श्रीद्धी इन्टरनेशनल अस्पताल र धोबीखोला करिडोरमा सञ्चालित स्वाकन अस्पताल सहित ३ वटा अस्पतालका सञ्चालक ‘फेक रेस्क्यु’मा संलग्न देखिएका छन् । श्रीद्धी इन्टरनेशनल अस्पतालका सञ्चालक डा. गिर्वाणराज तिमिल्सिना पक्राउ परेका छन् भने स्वाकन अस्पताल सञ्चालिका डा. मिनालमा पाण्डेविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । उनी फरार छिन् ।

पर्वतारोहण र ट्रेकिङ्ग क्षेत्रबाट पर्यटकलाई रेस्क्यु गरेपछि स्वाकन अस्पतालका सञ्चालकले जबरजस्ती अस्पताल भर्ना गरेर दिउँसो सपिङ गर्न पठाएको समेत भेटिएको छ । एभरेष्ट रिजनबाट हेलिकप्टरमार्फत रेस्क्यु गरिएका एक जना पर्यटकलाई दिउँसो सपिङ गर्न पठाएर साँझमात्र अस्पतालमा राखेको भेटिएको अनुसन्धानमा संलग्न एक जना प्रहरी अधिकृतले रातोपाटीलाई बताए ।

प्रहरी स्रोतका अनुसार तोकिएको अस्पतालमा भर्ना नभए जरिबाना लाग्ने डर देखाएर मिलेमतोमा ती पर्यकटलाई स्वाकनमा भर्ना गरेर पासपोर्ट जफत गरेको भेटिएको छ । ‘फेक रेस्क्यु’ गरेर बिरामीलाई भर्ना गरेपछि अस्पतालका सञ्चालकले ट्रेकिङ एजेन्सी र शेर्पासँग पनि सम्पर्क गरेर अवस्थाबारे जानकारी गराउने गरेका थिए । एक जना विदेशी नागरिकले स्वाकन अस्पतालले आफूलाई जबरजस्ती भर्ना गरेको भनेर इमेल मार्फत सीआईबीमा उजुरी गरेका छन् ।

बीमा कम्पनीबाट भुक्तानीको ग्यारेन्टी नआएसम्म अस्पताल सञ्चालकले पासपोर्ट फिर्ता नगर्ने गरेको भेटिएको छ । स्वाकन अस्पताल सञ्चालकले पर्यटकलाई ‘उद्धारका लागि बाध्य पारिएको थिएन’ र ‘अस्पतालको सेवामा सन्तुष्ट रहेको’ भन्ने कागजमा पनि हस्ताक्षर गराएको भेटिएको छ ।

‘फेक रेस्क्यु’ प्रकरणमा संलग्न अस्पतालहरूले प्रोटोकलभन्दा बढी बीमा दाबीका लागिमात्र बिरामी भर्ना गर्ने गरेका थिए । भर्ना गरिएका पर्यटकहरू होटलमा गएर बस्ने र घुम्नसमेत जाने गरेका थिए । अनुसन्धानमा संलग्न सीआईबीका एक जना अधिकृतले भने, ‘पर्यटकलाई पछि बोलाएर डिस्चार्ज पेपर दिने गरेको खुलासा भएको छ ।’

अस्पतालहरूले नक्कली स्वास्थ्य रिपोर्ट बनाएर बीमा दावी गर्ने गरेका थिए । बढी बिल तयार गरेर उनीहरूले स्वास्थ्य बीमा दाबी गर्दै रेस्क्यु कम्पनी र ट्रेकिङ्ग कम्पनीका सञ्चालकसँग रकम बाँडफाँट गर्ने गरेको अनुसन्धानबाट थाहा भएको छ ।

  • रेस्क्यु र ट्रेकिङ कम्पनीको भूमिका के ?

‘फेक रेस्क्यु’मा १६ वटा ट्रेकिङ्ग कम्पनी र ५ वटा रेस्क्यु कम्पनीको संलग्नता देखिएको छ । ट्रेकिङ्ग कम्पनीले पर्यकटलाई बीमा गर्न अनुकूल कम्पनी छनोट गरेर पर्यकटकको आइटिनरी तयार गर्ने गरेका थिए । ट्रेकिङ्ग कम्पनीले गाईडको व्यवस्थापन र रेस्क्यु कम्पनीसँग समन्वय गर्ने गरेको भेटिएको छ । ट्रेकिङ्ग कम्पनीहरूले रेस्क्यु कम्पनी र अस्पतालबाट अवैध कमिसन लिने गरेको भेटिएको अनुसन्धानमा संलग्न अधिकृत बताउँछन् ।

रेस्क्यु कम्पनीहरूले ट्रेकिङ कम्पनीहरूसँग रेस्क्यु गर्नुपर्ने पर्यटकको इन्स्युरेन्स पोलिसी पेपर लिने र हेलिलिफ्ट गरेर सम्बन्धित अस्पतालमा लैजाने भूमिका खेलेको भेटिएको छ । रेस्क्यु कम्पनीहरूले बीमा कम्पनीहरूसँग भुक्तानीको ग्यारेन्टी लिएर बीमा दाबी गर्ने गरेका थिए ।

टुरिष्ट गाइडले उच्च हिमाली क्षेत्रमा हेरफेर गरिएको आकस्मिकता तयार गरेर हेलिकप्टर बोलाउन बाध्य पार्ने गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । गाइडले हेलिकप्टर बोलाउनुपर्ने भन्दै पर्यटकलाई कन्भिन्स पनि गर्ने गरेका थिए ।

हेलिकप्टर कम्पनीले पर्यटकलाई उद्धार गरेपछि प्यासेन्जर म्यानिफेस्ट किर्ते गरेर रेस्क्यु कम्पनीलाई पठाउने भूमिका खेलेको अनुसन्धानबाट थाहा भएको छ । रेस्क्यु कम्पनीसँग मिलेमतो गरेर आफ्नो नियमित फ्लाइटको व्यापार बढाउने उद्देश्यले हेलिकप्टर कम्पनीहरू फेक रेस्क्युमा संलग्न भएको अनुसन्धानमा संलग्न एक जना अधिकृतले बताए ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस