कम्युनिष्ट नेता पोख्रेलको निधन

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८१ कार्तिक २४, शनिबार (१ साल अघि)
  • १  पटक पढिएको
कम्युनिष्ट नेता पोख्रेलको निधन

वर्तमानकाल सम्वाददाता
कार्तिक २४ गते ।

दाङका पुराना कम्युनिष्ट नेता देवी पोख्रेलको निधन भएको छ । दाङको कम्युनिष्ट पार्टीको आन्दोलनमा अतुलनीय योगदान गरेका नेता पोख्रेलको ७४ वर्षको उमेरमा शुक्रबार राति घोराहीस्थित आफ्नै निवासमा निधन भएको हो ।

घोराही उपमहानगरपालिका–१५ मा बस्दै आउनुभएका पोख्रेल लामो समयदेखि मिर्गौलासम्बन्धी समस्याबाट पीडित हुनुहुन्थ्यो । नेकपा एमाले का केन्द्रीय सल्लाहकार समेत रहनुभएका पोख्रेलको पार्थिव शरीरलाई घोराही उपमहानगरपालिका–१८ रझेनास्थित शंखेपीपल घाटमा दाहसंस्कार गरिएको थियो ।

दाहसंस्कार कार्यक्रममा पोख्रेलका भाइ नेकपा एमाले का महासचिव शङ्कर पोख्रेल लगायत नेताहरूको उपस्थिति थियो । उहाँको पार्थिव शरीरमा एमालेको झण्डा ओढाएर सम्मान गर्नुभयो । स्वर्गीय पोख्रेलको कम्युनिष्ट आन्दोलनसँगै शिक्षा, पत्रकारिता तथा सामाजिक कार्यमा योगदान रहेको छ ।

निजी विद्यालयको उन्नयनमा समेत महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएका पोख्रेल दीपशिखा आवासीय माध्यमिक विद्यालय तथा दाङबाट प्रकाशित हुँदै आएको गणतन्त्र राष्ट्रिय दैनिकको संस्थापक हुनुहुन्थ्यो ।

स्व पोख्रेलका श्रीमती, दुई छोरा र एक छोरी हुनुहुन्छ । स्वर्गीय पोख्रेलको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि दिउँसो एमाले दाङको घोराहीस्थित पार्टी कार्यालयमा राखिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस