देशलाई निकास दिन आजपा मात्र विकल्प : प्रभु साह

  • Wartman Kal Dainik
  • / पत्रपत्रिका /
  • २०८२ फागुन १४, शुक्रबार (१ घण्टा अघि)
  • ५६ पटक पढिएको
देशलाई निकास दिन आजपा मात्र विकल्प : प्रभु साह

ओम प्रकाश यादव

रौतहट, १५ फागुन। आम जनता पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले देशमा अहिले लोकतन्त्र नभई दलतन्त्र कायम रहेको बताएका छन्।

जनचाहाना अनलाइन टेलिभिजनको लोकप्रिय कार्यक्रम ‘सीधा प्रश्नको सीधा जवाफ’ मा पत्रकार ओम प्रकाश यादवसँग कुराकानी गर्दै अध्यक्ष साहले लोकतन्त्रलाई नेताहरूले दलतन्त्रमा रूपान्तरण गरेको आरोप लगाए। उनले दलतन्त्र रहुञ्जेल देशमा समग्र विकास सम्भव नरहेको जिकिर गरे।

अध्यक्ष साहले दलतन्त्रको अन्त्य गरी वास्तविक जनताको शासन व्यवस्था कायम गर्ने उद्देश्यले आम जनता पार्टी स्थापना गरिएको बताए। “देशलाई सही निकास दिने शक्ति आजपा मात्र हो,” उनले भने, “दलाल दलतन्त्रको अन्त्य र जनताको शासन व्यवस्था स्थापना गर्न आम जनता पार्टीको विकल्प छैन।”

उनले आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा आम जनता पार्टीका उम्मेदवारहरूलाई बहुमतसहित विजयी गराउन आवश्यक रहेको धारणा राखे। बहुमत प्राप्त भएमा देशको राजनीतिक दिशा परिवर्तन गर्न सकिने उनको दाबी थियो।

सीमित दलका शीर्ष नेताहरूको स्वार्थका कारण राज्य संयन्त्र प्रभावित भएको आरोप लगाए। उनले दलगत भागबण्डा, राजनीतिक संरक्षण र नीतिगत अस्थिरताका कारण विकास निर्माणका काम प्रभावित भएको जिकिर गरे।
अध्यक्ष साहले दलतन्त्र अन्त्य नभएसम्म सुशासन, पारदर्शिता र समान अवसरको प्रत्याभूति हुन नसक्ने बताए। उनले राज्यको स्रोत–साधन सीमित व्यक्तिको नियन्त्रणमा केन्द्रित हुँदा आम नागरिक सेवा र अवसरबाट वञ्चित भइरहेको दाबी गरे।

उनका अनुसार आम जनता पार्टीले प्रत्यक्ष जनसहभागितामा आधारित शासन व्यवस्था, भ्रष्टाचारविरुद्ध कडा कदम, स्थानीय आवश्यकता अनुसार विकास योजना तथा युवालाई रोजगारी सिर्जनामा प्राथमिकता दिने नीति अघि सारेको छ। शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासलाई पहिलो प्राथमिकतामा राखिने उनले बताए।

अध्यक्ष साहले मधेसका जिल्लामा आधारभूत पूर्वाधार, सिँचाइ, कृषि आधुनिकीकरण र उद्योग स्थापनामा विशेष कार्यक्रम ल्याइने उल्लेख गरे। वैदेशिक रोजगारीमा जान बाध्य युवालाई स्वदेशमै रोजगारीको वातावरण बनाउन ठोस योजना तयार गरिएको उनले बताए।

उनले दलाल दलतन्त्रको अन्त्य गरी जनताको प्रत्यक्ष निगरानीमा चल्ने शासन व्यवस्था स्थापना गर्नुपर्नेमा जोड दिए। आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा आम जनता पार्टीका उम्मेदवारलाई बहुमतसहित विजयी गराउन उनले आह्वान गरे।

२०६४ सालदेखि रौतहट क्षेत्र नं. ३ बाट लगातार निर्वाचित हुँदै आएका साह यसपटक पनि सोही क्षेत्रबाट उम्मेदवार छन्।

जनतासँग निरन्तर सम्पर्क, विकास निर्माणका पहल र अधिकारको पक्षमा आवाज उठाउँदै आएको कारण आफू पुनः बहुमतसहित विजयी हुनेमा विश्वस्त रहेको उनले बताए।

कार्यक्रममा निर्वाचनको वातावरण, सम्भावित गठबन्धन, पार्टीको दीर्घकालीन रणनीति तथा देशको समग्र राजनीतिक अवस्थाबारे पनि विस्तृत छलफल गरिएको थियो।

ताजा अपडेट

खोजी गर्नुहोस