नेताले देश बिगारे, जनताको अवस्था बदल्न राजनीतिमा आएको हुँ : ऋषि धमला

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ फागुन १०, सोमबार (१ दिन अघि)
  • १०९ पटक पढिएको
नेताले देश बिगारे, जनताको अवस्था बदल्न राजनीतिमा आएको हुँ : ऋषि धमला

ओम प्रकाश यादव
रौतहट, ११ फागुन। पत्रकारिता छोडेर राजनीतिमा प्रवेश गरेका चर्चित पत्रकार ऋषि धमलाले देशको वर्तमान अवस्था प्रति असन्तुष्टि जनाउँदै आफू परिवर्तनको एजेण्डासहित चुनावी मैदानमा उत्रिएको बताएका छन्।

जनचाहना अनलाइन टेलिभिजनको लोकप्रिय कार्यक्रम ‘सीधा प्रश्नको सीधा जवाफ’ मा पत्रकार ओम प्रकाश यादवसँगको विशेष कुराकानीमा बोल्दै धमलाले विगतका नेताहरूले देश बनाउन नसकेको आरोप लगाए।

उनले भने, “नेताहरूले देश बनाउनेभन्दा चरम भ्रष्टाचार गर्ने, आफ्ना नेता–कार्यकर्ता पाल्ने र जनतालाई गरिबीतर्फ धकेल्ने काम गरे। विकासको नाममा जनतासँग मत लिएर सत्तामा पुगे, तर जनताको अवस्था जस्ताको त्यस्तै रह्यो।”

धमलाका अनुसार पटक–पटक सत्ता परिवर्तन भए पनि सर्वसाधारणको जीवनस्तरमा अपेक्षित सुधार हुन सकेन। “नेताहरूले जनतालाई आश्वासन मात्र दिए, काम गरेनन्। चरम लुट र भ्रष्टाचारका कारण देश आज कमजोर र गरिब अवस्थामा पुगेको छ,” उनले आरोप लगाए।

रौतहट क्षेत्र नं ४ बाट प्रभु साह नेतृत्वको आम जनता पार्टीका तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार रहेका धमलाले आफू निर्वाचित भए पहिलो प्राथमिकता भ्रष्टाचार नियन्त्रण हुने बताए।

“सबैभन्दा पहिला भ्रष्टाचारीलाई कारबाहीको दायरामा ल्याउँछु,” उनले भने।

पत्रकारिता छोडेर राजनीतिमा आएको निर्णयबारे उनले भने, “देश बनाउन पत्रकारिता मात्रै पर्याप्त भएन। त्यसैले प्रत्यक्ष रूपमा नीति निर्माणमा पुग्न राजनीतिमा आएको हुँ।” उनले आफ्नो जित सुनिश्चित रहेको दाबी गर्दै रौतहट–४ का मतदाता परिवर्तनको पक्षमा रहेको बताए।

धमलाले चुनाव जितेपछि क्षेत्रको बेरोजगारी समस्या अन्त्य गर्न युवालाई स्वदेशमै रोजगारी दिने गरी ठूलो उद्योग स्थापना गर्ने योजना सार्वजनिक गरे। साथै, गुणस्तरीय अस्पताल स्थापना, शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार तथा कृषि क्षेत्रमा व्यापक आधुनिकीकरण गर्ने प्रतिबद्धता जनाए।

कार्यक्रममा धमलाले विकास, सुशासन र पारदर्शितालाई मुख्य एजेण्डा बनाएको उल्लेख गर्दै जनताको साथ र विश्वासले आफूलाई अघि बढाएको बताए।

उनको दाबी र योजनाले रौतहट क्षेत्र नं ४ को चुनावी माहोल थप तातेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस