वृन्दावन नगरपालिकाको नगर प्रमुख कुर्मीको स्व. भाउजू जगिया देवीको १३ औं पुण्यतिथि सम्पन्न

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८१ पौष १३, शनिबार (१ साल अघि)
  • २ पटक पढिएको
वृन्दावन नगरपालिकाको नगर प्रमुख कुर्मीको स्व. भाउजू जगिया देवीको १३ औं पुण्यतिथि सम्पन्न

रमेश कुमार यादब
पुस १२, रौतहट

वृन्दावन नगरपालिकाका नगर प्रमुख विनोद प्रसाद कुर्मीको भाउजू तथा हरिनारायण प्रसाद पटेलकी धर्मपत्नी स्व. जगिया देवीको १३ औं पुण्यतिथि वृन्दावन नगरपालिकामा विशेष कार्यक्रम गरी सम्पन्न भएको छ । स्व. जगिया देवीको निधन ५२ वर्षको अल्पआयुमा भएको थियो । उहाँ केही समयदेखि ब्लड क्यान्सरबाट पीडित हुनुहुन्थ्यो र उपचारको क्रममा उहाँको असामयिक निधन भएको हो । सभाको सुरुवात २ मिनेट मौन धारण गरी स्वर्गीय जगिया देवीप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

१३ औं पुण्यतिथिका अवसरमा नेपाल कम्युनिस्ट समाजवादी पार्टी (एसका)का राष्ट्रिय अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल स्वयं उपस्थित भई दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । कार्यक्रममा अध्यक्ष नेपालले स्व. जगिया देवीको मृत आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारलाई धैर्य धारण गर्न सक्ने शक्ति प्रदान गर्न ईश्वरसँग प्रार्थना गर्नुभयो । स्व. जगिया देवी नेकपा एस पार्टीसँग आबद्ध रहँदै समाज सेवामा क्रियाशील हुनुहुन्थ्यो ।

उहाँको निधनले पार्टी र समुदायलाई अपूरणीय क्षति पुगेको बताउँदै अध्यक्ष नेपालले स्व. देवीको योगदानलाई सधैं स्मरण गरिने उल्लेख गर्नुभयो । उहाँले पार्टी निर्माण र समाज सुधारका विभिन्न गतिविधिमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । उहाँको असामयिक निधनले कुर्मी परिवार मात्रै होइन, सिंगो वृन्दावन नगरपालिका शोकमग्न बनेको छ । उहाँको निधनले समाज र पार्टीलाई ठूलो क्षति पुगेको भन्दै कार्यक्रमका वक्ताहरूले स्व. देवीप्रति श्रद्धाञ्जली व्यक्त गरे ।

कार्यक्रममा वृन्दावन नगरपालिकाका विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, शिक्षाविद्, स्थानीय जनता तथा नेकपा एसका नेता कार्यकर्ताहरूको व्यापक उपस्थिति रहेको थियो। स्व. जगिया देवी सामाजिक सेवामा संलग्न हुनुका साथै परिवार र समुदायलाई सहयोग गर्ने सक्रिय व्यक्तित्वको रूपमा चिनिनुहुन्थ्यो । उहाँको निधनले सबैलाई स्तब्ध बनाएको छ । उहाँको योगदानलाई सधैं सम्मानका साथ सम्झिने प्रतिवद्धता वक्ताहरूले व्यक्त गरेका थिए ।

पुण्यतिथिमा विभिन्न धार्मिक अनुष्ठान सहित सामूहिक प्रार्थना गरियो । मृत आत्माको चिरशान्तिका लागि विशेष सामूहिक पूजा तथा हवन गरिएको थियो । शोकाकुल परिवारलाई धैर्य र सहनशक्ति प्रदान गर्न सहभागीहरूले सान्त्वना व्यक्त गरेका थिए । यस अवसरमा शोकाकुल परिवारले दिवंगत आत्माको सम्झनामा विभिन्न सामाजिक कार्यहरू गर्ने योजना रहेको जानकारी गराएको छ ।

त्यसतै यस कार्यक्रममा नेपाल कम्युनिस्ट समाजवादी उपमहासचिव रामकुमार भट्टराई, प्रदेशसभा सदस्य कनिस पटेल, बंशीधर मिश्रा , पार्टीका केन्द्रीय सदस्य महेन्द्र चौलागाई, बिनिता बखरेल, तथा जिल्ला अध्यक्ष कमल यादब लगायतका नेताहरूले स्वर्गीय जगिया देवीको तस्बिरमा पुष्प गुच्छा अर्पण गरी श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस