
रमेश कुमार यादब
पुस १६, रौतहट
रौतहट जिल्लाको बृन्दावन नगरपालिकाले आफ्नो क्षेत्रका नागरिकहरूको स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्नका लागि एउटा उदाहरणीय कदम चालेको छ । नगरपालिकाले एम्बुलेन्स सेवा निशुल्क गरेको घोषणा गर्दै नगरवासीलाई ठूलो राहत प्रदान गरेको छ ।नगर प्रमुख विनोद प्रसाद कुर्मीले आफ्नो चुनावी प्रतिबद्धताहरू पूरा गर्ने क्रममा यो निर्णय गरेका हुन् । नगर प्रमुख बिनोद प्रसाद कुर्मीले आफ्नो चुनावी प्रतिबद्धता अनुरूप स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिँदै यो सेवा लागू गरेका हुन् । नगरप्रमुख कुर्मीले चुनाव जित्नु अघि नगरवासीसँग शिक्षा, स्वास्थ्य र खानेपानी क्षेत्रमा विशेष प्राथमिकता दिने बाचा गरेका थिए ।
तिनै प्रतिबद्धताहरूलाई चरणबद्ध रूपमा कार्यान्वयन गर्दै, गर्भवती महिलाहरूलाई सुत्केरी गराउन र आकस्मिक स्वास्थ्य सेवा आवश्यक पर्ने अवस्थामा अब एम्बुलेन्सको व्यवस्था निशुल्क गरिएको छ ।बृन्दावन नगरपालिकाको वार्ड नं. ७ मा आयोजित साना किसान कृषि सहकारी संस्था लि.को १९ औं बार्षिक साधारण सभा कार्यक्रममा नगरप्रमुख कुर्मीले भने, “नगरवासीको स्वास्थ्य सुरक्षित भयो भने मात्र नगर समृद्ध हुनसक्छ । स्वास्थ्यमा विशेष ध्यान दिनु हाम्रो पहिलो प्राथमिकता हो ।
“ उनले थपे कि गर्भवती महिलाहरूलाई विशेष सुविधा दिने उद्देश्यले यो निर्णय लिइएको हो । यस कदमले विशेष गरी ग्रामीण क्षेत्रका महिलालाई सहज हुने विश्वास गरिएको छ । नगर प्रमुख कुर्मीले भने, “हाम्रो उद्देश्य नगरबासिलाई सहज स्वास्थ्य सेवा दिनु हो । यसले मातृ मृत्यु दर घटाउन र नवजात शिशुको स्वास्थ्य सुधारमा योगदान पु¥याउनेछ ।”नगरप्रमुख कुर्मीका अनुसार, बृन्दावन नगरपालिकाका गर्भवती महिलाहरूलाई सुत्केरी गराउन बिरगंज, गौर, वा अन्य ठूला स्वास्थ्य संस्थामा जानुपर्ने बाध्यता थियो ।
यस क्रममा ४ देखि ५ हजार रुपैयाँसम्मको खर्च हुने गथ्र्यो । तर, अब नगरपालिकाले यो सेवा पूर्ण रूपमा निःशुल्क प्रदान गर्नेछ । गर्भवती महिलादेखि स्वास्थ्य समस्या भएका अन्य नगरबासिलाई सहजरूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन निशुल्क एम्बुलेन्स सेवा सुरु गरिएको छ । ”गाउँमै रहेको स्वास्थ्य संस्थामा सुत्केरी गराउन चाहने महिलाहरूलाई पनि एम्बुलेन्स सेवा उपलब्ध गराइनेछ ।
यो कदमले नगरवासीलाई आर्थिक र भौतिक रूपमा सजिलो बनाउने विश्वास गरिएको छ ।निशुल्क एम्बुलेन्स सेवाबाहेक, नगरप्रमुख कुर्मीले नगरवासीका लागि अन्य विकासका काम पनि अघि बढाइरहेका छन् । शिक्षा, खानेपानी, र पूर्वाधार विकासमा पनि नगरपालिकाले ठोस कदम चालेको छ ।
नगरबासिहरूले नगरपालिकाको यो कदमको स्वागत गर्दै धन्यवाद दिएका छन् ।। विशेष गरी आर्थिक रूपमा कमजोर वर्गका व्यक्तिहरूलाई यो सेवा अत्यन्तै उपयोगी भएको बताइरहेका छन् । “हामीले यस्तो सेवा पाउने आशा गरेको थिएनौं । यो हाम्रो नगर प्रमुखको उत्कृष्ट निर्णय हो,“ एक स्थानियले भने । यो सेवाले विशेष गरी आर्थिक रूपमा कमजोर वर्गलाई ठूलो राहत दिनेछ ।
नगरप्रमुख कुर्मीले आगामी दिनमा नगरपालिकाभित्र स्वास्थ्य सेवा थप प्रभावकारी बनाउने र अन्य सामाजिक सेवाहरूमा पनि सुधार ल्याउने योजना रहेको बताए । “हाम्रो उद्देश्य नगरलाई समृद्ध बनाउनु हो । यसको लागि शिक्षा, स्वास्थ्य र रोजगारी सिर्जना हाम्रो प्राथमिकता हो,“ उनले भने । बृन्दावन नगरपालिकाको यो निर्णयले नगरवासीको जीवनस्तर सुधार्ने मात्र होइन, सुदूर क्षेत्रमा स्वास्थ्य पहुँचलाई सुनिश्चित गर्दै समग्र स्वास्थ्य प्रणालीलाई बलियो बनाउने विश्वास गरिएको छ ।
