गरुडा नगरपालिकामा तीन दिनसम्म चल्ने निःशुल्क आंखा शिविर अनौपचारिक रुपमा सुरु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८१ पौष २७, शनिबार (१ साल अघि)
  • ३ पटक पढिएको
गरुडा नगरपालिकामा तीन दिनसम्म चल्ने निःशुल्क आंखा शिविर अनौपचारिक रुपमा सुरु

पवन कुमार उपाध्याय
पुस २६, रौतहट

गरुडा नगरपालिकामा तीन दिनसम्म सञ्चालन हुने निशुल्क आँखा शिविर शुक्रबारदेखि औपचारिक रुपमा सुरु भएको छ । गरुडा नगरपालिका वडा नं. ५ महम्मदपुर हेल्थपोस्ट शिवनगरमा शुक्रबारदेखि तीन दिनसम्म सञ्चालन हुने निःशुल्क आँखा शिविर सुरु भएको छ । उक्त शिविर नेपाली सेना, तिलगंगा आँखा अस्पताल काठमाडौं र गरुडा नगरपालिकाको सहकार्यमा सञ्चालनमा आएको हो । नगर प्रमुख कन्थमनि प्रसाद जैसवालले हेल्थपोस्टको अवस्था र त्यहाँ उपलब्ध सेवा सुविधाको अनुगमन गर्दै शिविरमा आएका सेवाग्राहीहरूलाई नाम दर्ता गराउँदै अनौपचारिक रूपमा शिविरको उद्घाटन गर्नुभयो ।

नगर प्रमुख जैसवालले शिविरमा स्थानीय बासिन्दाहरूलाई आँखा सम्बन्धी समस्या भएमा नजिकै आएर निःशुल्क चेकजाँच गराउन आग्रह गर्नुभयो । उहाँका अनुसार शिविरको पहिलो दिन शुक्रबार आँखा स्क्रिनिङ गरिनेछ भने शनिबारदेखि सोमबारसम्म मोतियाबिन्दुका बिरामीहरूको निःशुल्क अपरेशन गरिनेछ । शिविरमा आँखा सम्बन्धी रोगहरूको पहिचान र उपचारका लागि दक्ष चिकित्सकहरू सहभागी भएका छन् । मोतियाबिन्दु, आँखा चिलाउने, धमिलो देख्ने, आँखा सुख्खा हुने जस्ता समस्याहरूको जाँच गरिनुका साथै आवश्यक परे अपरेशन समेत गरिनेछ ।

नगर प्रमुख जैसवालले शिविरमा उपस्थित भई आफ्नो आँखा जाँच गराउन र उपलब्ध सेवाहरूको लाभ लिन स्थानीय बासिन्दाहरूलाई अनुरोध गर्नुभएको छ । उहाँले भन्नुभयो, “नगरपालिकाको यो प्रयासले स्थानीय बासिन्दाहरूलाई आर्थिक भार कम गर्दै स्वस्थ जीवन यापनमा सहयोग गर्नेछ ।“ यस्ता स्वास्थ्य शिविरहरूले स्थानीय बासिन्दाहरूलाई सहज र प्रभावकारी सेवा पु¥याउने बताउनु भयो । “शहरवासीको स्वास्थ्य सेवामा सुधार ल्याउन हामी प्रतिबद्ध छौँ ।

स्वास्थ्य उपचारका यस्ता अभियानहरूले नागरिकहरूको स्वास्थ्य सम्बन्धी समस्याहरू समाधान गर्न र उनीहरूको जीवनस्तर उकास्न मद्दत गर्नेछ,“ उहाँले भन्नुभयो । शिविरको पहिलो दिन नै स्थानीय बासिन्दाहरूको उत्साहजनक सहभागिता देखिएको छ । गाउँगाउँबाट सेवाग्राहीहरू हेल्थपोस्टमा आएर नाम दर्ता गरिरहेका छन् । शिविरमा आएका सेवाग्राहीहरूले यस्तो कार्यक्रमले आफ्नो गाउँठाउँमै उपचार सेवा पाउन सकिएकोमा खुशी व्यक्त गरेका छन् ।

गरुडा नगरपालिकाले यस प्रकारका शिविरहरू आयोजना गरेर नागरिकहरूको स्वास्थ्य सुधारमा महत्वपूर्ण योगदान गरिरहेको छ । स्वास्थ्य सेवा पाउन कठिनाइ भोगिरहेका स्थानीयहरूको लागि यो शिविर अत्यन्तै लाभदायक हुने अपेक्षा गरिएको छ । नगरपालिकाले आगामी दिनमा यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिवद्धता पनि जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस