बिश्रामपुरमा शीतलहर प्रभावितलाई वडाअध्यक्ष साहले गरे सिरक वितरण

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८१ माघ ९, बुधबार (१ साल अघि)
  • २ पटक पढिएको
बिश्रामपुरमा शीतलहर प्रभावितलाई वडाअध्यक्ष साहले गरे सिरक वितरण

रमेश कुमार यादब
माघ ०९, रौतहट

लगातार तिन हप्तादेखि बढ्दै गएको चिसोका कारण जनजीवन कष्टकर बनेको रौतहट जिल्लामा स्थानीय तहले राहतको पहल थालेको छ । सोहि अनुरुप रौतहट बृन्दावन नगरपालिकाको वार्ड नं. ३ बिश्रामपुरमा शीतलहरका कारण बढ्दै गएको चिसोले जनजीवन प्रभावित भएपछि वडाअध्यक्ष हरिनारायण साहको नेतृत्वमा एक कार्यक्रमको आयोजना गरी गरिब, विपन्न, दलित तथा एकल महिलाहरुलाई सिरक वितरण गरिएको छ ।

चिसोका कारण विशेषगरी दलित, गरिब, बिपन्न, र एकल महिलाहरू कठ्याङ्ग्रिएको अवस्थालाई ध्यानमा राख्दै वडा नं. ३ का वडाअध्यक्ष साहले आफ्नो वडाका २ सय व्यक्तिहरूलाई सिरक वितरण गरेका हुन् । चिसोका कारण दैनिक जीवन कष्टकर बन्दै गइरहेको अवस्थामा, वडाअध्यक्ष साहले आफ्ना वार्डका नागरिकहरूको समस्यालाई ध्यानमा राख्दै यो कदम चालेका हुन् ।
वितरण कार्यक्रममा बोल्दै वडाअध्यक्ष साहले चिसो मौसमका कारण मानिसहरूको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भएकाले यस्तो राहत कार्यक्रम आयोजना गरिएको बताए ।

उनले भने, “शीतलहरको प्रकोपबाट वडावासीलाई जोगाउन सकेसम्म सहयोग गर्ने प्रयास गरेका छौं । “चिसोले जनताको अवस्था दयनीय भएको छ । यस्तो समयमा सबैलाई सहयोग गर्नु हाम्रो कर्तव्य हो । यसले राति सुत्नमा केही सहजता प्रदान गर्ने विश्वास लिएका छौं ।“ कार्यक्रममा सिरक प्राप्त गरेका स्थानीयहरू निकै खुसी देखिन्थे । ७५ वर्षीय हुसेनी साह कानुले खुसी व्यक्त गर्दै भने, “हामीजस्ता गरिबका लागि यो ठूलो राहत हो ।

अब राति चिसोले सुत्न समस्या हुने छैन । यसअघि चिसोका कारण निदाउन समस्या भइरहेको थियो । वडाअध्यक्षज्यूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु उनले भने । “ वडाअध्यक्ष साहले आगामी दिनमा पनि यस्तै सामाजिक सहयोगका कार्यक्रम जारी राख्ने प्रतिवद्धता जनाए । त्यति मात्र नभएर आफू सधैं जनताको दुःखसुखमा साथ दिने प्रतिबद्धता जनाउँदै भने, “वार्डका हरेक नागरिकको समस्या समाधान गर्न म सधैं तत्पर छु ।

कार्यक्रमका क्रममा सोहि वार्डको वडासदस्य बिरेन्द्र प्रसाद यादब, वडासदस्य लगन राउत बरैई, हरेन्द्र प्रसाद यादब, ईन्द्रजित यादब ,अनिरुद्ध यादब, बिनोद यादब , राजेश यादब, जयराम साह लगायत वडाका विभिन्न समुदायका व्यक्तिहरूको उपस्थिति थियो । सिरक वितरण कार्यले बिश्रामपुरका स्थानीयहरूलाई चिसोबाट केही हदसम्म राहत मिलेको र यो प्रयासले अन्य वडाहरूमा पनि उदाहरण बन्न सक्ने विश्वास व्यक्त गरिएको छ ।

रौतहट जिल्लामा शीतलहरको कारण मानिसहरूले बिहानदेखि बेलुकीसम्म घरभित्रै बसेर समय बिताउनु परेको छ । घाम देख्न नसकिएको र चिसो बढेकोले बालबालिका, वृद्धवृद्धा, र दैनिक ज्याला मजदुरी गर्ने मानिसहरू बढी प्रभावित भएका छन् । यस्ता
राहत कार्यक्रमले जाडोबाट पीडित जनतालाई ठूलो राहत दिने विश्वास लिइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस