रौतहटका शिवालयहरूमा महाशिवरात्रि पूजाको तयारी पूरा

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८१ फागुन १४, बुधबार (१ साल अघि)
  • २ पटक पढिएको
रौतहटका शिवालयहरूमा महाशिवरात्रि पूजाको तयारी पूरा

रमेश कुमार यादब
फाल्गुन १३ गते ।

जिल्लाका विभिन्न शिवालयहरूमा भोली (फागुन १४) मनाइने महाशिवरात्रि पर्व को लागि सम्पूर्ण तयारी पूरा भएको छ। रौतहट जिल्लाका १८ वटै स्थानीय तहमा रहेका दर्जनौँ महादेव मन्दिरहरू भव्यरूपमा सिंगारिएका छन् भने भक्तजनहरूको सुविधाका लागि विशेष व्यवस्थाहरू मिलाइएको छ। रौतहटको ऐतिहासिक धार्मिक स्थल बृन्दावन नगरपालिका–३, बिश्रामपुरस्थित श्री बाबा विश्वम्भरनाथ महादेव मन्दिर यस वर्ष पनि महाशिवरात्रिको मुख्य केन्द्रबिन्दु बन्ने अपेक्षा गरिएको छ।

महादेव मन्दिर विकास समितिका अध्यक्ष मदन साह का अनुसार यहाँ विशेष पूजाआजा, रुद्राभिषेक, भजन–कीर्तन तथा भक्तजनहरूको सुविधाका लागि व्यापक तयारी पूरा भएको छ। प्रत्येक वर्ष महाशिवरात्रिको दिन भान्टाको भार (बोझ) तथा धानको मौर (मट्का) चढाउने विशेष धार्मिक परम्परा रहिआएको छ। स्थानीय जनविश्वासअनुसार यस दिन यहाँ चर्मरोग निको हुने र मनोकामना पूरा हुने मान्यता रहेको छ। यही कारण बिहान ३–४ बजेदेखि नै मन्दिर परिसरमा दर्शनार्थीहरूको घुइँचो लाग्ने मन्दिर विकास समितिका अध्यक्ष साहले बताए।

महाशिवरात्रि पर्वमा हजारौं भक्तजनहरू रौतहट जिल्ला लगायत छिमेकी जिल्ला र स्थानीय गाउँहरूबाट आउने अनुमान गरिएको छ। भक्तजनहरूको भीडलाई व्यवस्थित गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र ट्राफिक प्रहरी परिचालन गरिएको छ। साथै, स्वयंसेवकहरूको टोली पनि खटाइएको मन्दिर विकास समितिले जानकारी दिएको छ। रौतहट जिल्लाभित्रका अन्य महादेव मन्दिरहरूमा पनि विशेष पूजाआजा र धार्मिक कार्यक्रमहरू आयोजना गरिएका छन्।

शिवनगर, गौर, चन्द्रनिगाहपुर, कटहरिया, मौलापुर, दुर्गाभगवती, परोहा लगायतका ठाउँहरूका शिवालयमा पनि भव्यरूपमा भजन–कीर्तन, प्रसाद वितरण, धार्मिक प्रवचन जस्ता कार्यक्रमहरू तय गरिएका छन्। नेपाल सरकारले देशैभर महाशिवरात्रिको अवसरमा सार्वजनिक बिदा दिएको छ, जसले गर्दा भक्तजनहरू बिहानैदेखि मन्दिरहरूमा पुगेर पूजाआजा गर्न सहज हुने अपेक्षा गरिएको छ। रौतहटका विभिन्न धार्मिक स्थलहरूमा महाशिवरात्रि पर्व उल्लासपूर्वक मनाइने विश्वास गरिएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस