रौतहटमा शान्तिपूर्वक सम्पन्न भयो एसईईको पहिलो दिनको परीक्षा

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८१ चैत्र ६, बिहिबार (११ महिना अघि)
  • ४ पटक पढिएको
रौतहटमा शान्तिपूर्वक सम्पन्न भयो एसईईको पहिलो दिनको परीक्षा

रमेश कुमार यादब
चैत ०७, रौतहट

रौतहट जिल्लाको मध्यभागमा अवस्थित गरुडा नगरपालिका(४ स्थित श्री नमुना माध्यमिक विद्यालयको परीक्षा केन्द्रमा पहिलो दिनको परीक्षा शान्तिपूर्वक सम्पन्न भएको छ । आजदेखि देशभर सुरु भएको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ रौतहटमा शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । जिल्लाभरका विभिन्न परीक्षा केन्द्रहरूमा बिहान ८ बजेदेखि सुरु भएको परीक्षाको पहिलो दिन अंग्रेजी विषयको परीक्षा सहज रूपमा सम्पन्न भएको हो ।

रौतहट जिल्लाको मध्यभागमा अवस्थित गरुडा नगरपालिकाको श्री नमुना माध्यमिक विद्यालयमा रहेको परीक्षा केन्द्रमा पनि पहिलो दिनको परीक्षा कुनै अवरोधबिना सम्पन्न भएको केन्द्राध्यक्ष प्रभु पटेलले जानकारी दिनुभएको छ । उहाँका अनुसार सो केन्द्रमा परीक्षा दिन ३०१ जना परीक्षार्थी दर्ता भए पनि ९ जना अनुपस्थित भएका छन् । उपस्थित २९२ जना विद्यार्थीहरूमा १५९ छात्रा र १४२ छात्र रहेका छन् । यस वर्षको एसईई परीक्षामा रौतहट जिल्लाबाट १० हजार ४८४ जना विद्यार्थी सहभागी भएका छन् ।

शिक्षा विकास तथा समन्वय इकाई रौतहटका प्रमुख वीरेन्द्र जंग थापाका अनुसार साधारण तथा प्राविधिक शिक्षा प्रणाली दुवै तर्फका नियमित र ग्रेड वृद्धि गरी कूल परीक्षार्थीको यो संख्या पुगेको हो । रौतहट जिल्लाभर ९९ वटा सामुदायिक विद्यालय, २० वटा संस्थागत विद्यालय र ८ वटा प्राविधिक विद्यालय गरी कुल १२७ वटा विद्यालयका विद्यार्थी परीक्षामा सामेल भएका छन् ।

ती विद्यार्थीहरूको लागि जिल्लाभर ४० वटा परीक्षा केन्द्र स्थापना गरिएको छ । जिल्लाभरका सबै परीक्षा केन्द्रमा पहिलो दिनको परीक्षा शान्तिपूर्ण रूपमा सम्पन्न भएको शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख थापाले जानकारी दिनुभएको छ । परीक्षामा कुनै अवाञ्छित गतिविधि नभएको र सम्पूर्ण परीक्षा केन्द्रमा सुरक्षा व्यवस्था कडा पारिएको बताइएको छ । परीक्षा केन्द्रहरूमा सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय प्रशासनको निगरानी रहेको छ ।

विद्यालय प्रशासन, अभिभावक तथा विद्यार्थीहरू परीक्षा शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा खुसी व्यक्त गरेका छन् ।
परीक्षा केन्द्रहरूमा शैक्षिक वातावरण कायम गर्दै आगामी दिनका परीक्षाहरू पनि शान्तिपूर्ण रूपमा सम्पन्न गर्न शिक्षा विभागले आवश्यक व्यवस्थापन गरेको जनाएको छ । यस वर्षको एसईई परीक्षा चैत ७ गतेदेखि सुरु भई चैत १८ गतेसम्म सञ्चालन हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस