वृन्दावन नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत भुजेलको दुई वर्षे निरन्तरता, प्रशासनिक स्थायित्वले विकासमा तिव्रता

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८१ चैत्र ६, बिहिबार (११ महिना अघि)
  • ३ पटक पढिएको
वृन्दावन नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत भुजेलको दुई वर्षे निरन्तरता, प्रशासनिक स्थायित्वले विकासमा तिव्रता

रमेश कुमार यादब
चैत ०७, रौतहट

मधेस प्रदेशका धेरैजसो स्थानीय तहहरूमा प्रमुख प्रशासकीय अधिकृतहरू लामो समयसम्म टिक्न नसक्ने प्रवृत्ति देखिँदै आएको छ । कतिपय स्थानीय तहहरूमा प्रमुख प्रशासकीय अधिकृतहरूले काम गर्न नचाहने, आएका अधिकृतहरू पनि केही महिनामै सरुवा भएर जाने वा अन्य कारणले टिक्न नसक्ने समस्या कायमै छ । यसको प्रत्यक्ष असर स्थानीय विकास निर्माण, सेवा प्रवाह र प्रशासनिक व्यवस्थापनमा परेको छ । तर, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले वृन्दावन नगरपालिकामा भने प्रशासनिक स्थायित्व कायम गर्दै उपसचिव खिम बहादुर भुजेललाई प्रमुख प्रशासकीय अधिकृतका रूपमा दुई वर्षसम्म निरन्तर जिम्मेवारी दिइराखेको छ ।

यो निरन्तरताले वृन्दावन नगरपालिकाको विकास निर्माण, सेवा प्रवाह तथा सुशासन संस्थागत गर्न महत्वपूर्ण भूमिका खेलेको नगर प्रमुख बिनोदप्रसाद कुर्मीले बताएका छन् । वृन्दावन नगरपालिकाले भुजेलको नेतृत्वमा चौतर्फी विकासको गतिलाई तिव्र पारेको छ । नगर प्रमुख कुर्मीका अनुसार, नगरपालिकाले पछिल्ला दुई वर्षमा निम्न क्षेत्रमा महत्वपूर्ण सुधार गरेको छ । नगर क्षेत्रभित्र नयाँ सडक विस्तार, मर्मत तथा कालोपत्रे कार्य तीव्र रूपमा भइरहेको छ ।

पुल(पुलेसा तथा खानेपानीका योजना प्रभावकारी रूपमा कार्यान्वयनमा छन् । बजार क्षेत्रको स्मार्ट सडक योजना अघि बढाइएको छ । सार्वजनिक विद्यालयहरूमा भौतिक संरचनाको सुधारसहित डिजिटल प्रविधिको प्रयोगलाई प्राथमिकता दिइएको छ । छात्रवृत्ति तथा गुणस्तरीय शिक्षाका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिएका छन् । त्यति मात्र नभएर नगरपालिकाभित्र स्वास्थ्य चौकीहरूमा सेवाको विस्तार गर्दै गुणस्तरीय सेवा प्रवाह सुधार गरिएको छ । नगरपालिकाले खुला दिसामुक्त क्षेत्र घोषणापछि सरसफाइलाई अझ प्रभावकारी बनाउने अभियान सञ्चालन गरिरहेको छ । कार्यालयहरुमा सेवाग्राहीको सुविधा बढाउन डिजिटल प्रशासन प्रणाली लागू गरिएको छ । अनलाइन सेवा प्रवाह प्रणाली
प्रभावकारी रूपमा सञ्चालन भइरहेको छ ।

भुजेलको निरन्तरतामा नगर प्रमुख कुर्मीको जोड
नगर प्रमुख बिनोदप्रसाद कुर्मीका अनुसार प्रमुख प्रशासकीय अधिकृतको स्थायित्व विकास र सेवा प्रवाहका लागि अपरिहार्य छ । “नगरपालिकाको समग्र विकासलाई नयाँ उचाइमा पु¥याउनका लागि प्रमुख प्रशासकीय अधिकृत उपसचिव खिम बहादुर भुजेलको कुनै विकल्प छैन,“ कुर्मीले भने । मधेस प्रदेशका अन्य स्थानीय तहहरूमा प्रमुख प्रशासकीय अधिकृतहरू पटक(पटक सरुवा भइरहँदा त्यसको असर विकास योजनामा परेको छ ।

तर, वृन्दावन नगरपालिकामा भुजेलको निरन्तरताले प्रशासनिक स्थायित्व कायम गर्दै स्थानीय सरकार सञ्चालनको उदाहरणीय मोडेल प्रस्तुत गरेको छ । नगरवासी तथा स्थानीय जनप्रतिनिधिहरूले पनि भुजेलको नेतृत्वमा नगरपालिकाले विकासमा नयाँ उचाइ लिएको बताउँदै स्थायित्वको निरन्तरताको माग गरेका छन् ।

प्रशासनिक स्थायित्वले मात्रै विकास निर्माण, सेवा प्रवाह तथा सुशासनलाई प्रभावकारी बनाउन सकिन्छ भन्ने उदाहरण वृन्दावन नगरपालिकाले प्रस्तुत गरेको छ । अन्य स्थानीय तहहरूले पनि वृन्दावनको सिकाइलाई आत्मसात गर्दै प्रशासनिक स्थायित्वलाई प्राथमिकता दिन आवश्यक देखिन्छ ।

ताजा अपडेट

खोजी गर्नुहोस