बिश्रामपुरमा बालबालिकालाई बुझौं विषयक सडक नाटक ग्यालेक्सि पब्लिक स्कुलद्धारा प्रदर्शन

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८१ चैत्र ८, शनिबार (११ महिना अघि)
  • २ पटक पढिएको
बिश्रामपुरमा बालबालिकालाई बुझौं विषयक सडक नाटक ग्यालेक्सि पब्लिक स्कुलद्धारा प्रदर्शन

रमेश कुमार यादब
चैत ०९, रौतहट

समाजमा रहेका विभिन्न सामाजिक विकृति तथा असमानताका विरुद्ध जनचेतना फैलाउन प्रभावकारी मानिएको सडक नाटक अहिले देशभर लोकप्रिय बन्दै गएको छ । यसै क्रममा, सामाजिक विकृति, लैङ्गिक विभेद, शिक्षा, स्वास्थ्य, बाल अधिकार लगायतका विषयमा जनचेतना फैलाउन सडक नाटक प्रभावकारी भइरहेको छ । यसैक्रममा, रौतहट जिल्लाको बृन्दावन नगरपालिका वार्ड नं. १ पुस्तकालय नजिक र गढीमाई नगरपालिका वार्ड नं. २ समनपुर स्थित ग्यालेक्सी पब्लिक स्कुलका विद्यार्थीहरूले शिक्षा सम्बन्धी एक सचेतना मूलक सडक नाटक प्रदर्शन गरेका थिए ।

ग्यालेक्सी पब्लिक स्कुल, समनपुर का विद्यार्थीहरूले ’बालबालिकालाई बुझौं’ विषयमा आधारित सडक नाटक प्रस्तुत गरेका थिए । रौतहट जिल्लाको बृन्दावन नगरपालिका–१, पुस्तकालय नजिक आयोजित यस सडक नाटकमा गढिमाई नगरपालिक–२, समनपुरस्थित ग्यालेक्सी पब्लिक स्कुल का कक्षा ५, ६, ७, र ८ का विद्यार्थीहरू सहभागी थिए । सडक नाटक मार्फत समाजमा व्याप्त छोरा(छोरीबीचको विभेद, बालबालिकाको इच्छाविपरीत गरिएको करियरको निर्णय, र अभिभावकले आफ्ना सन्तानप्रति देखाउने दबाब जस्ता समस्याहरू उजागर गरिएको थियो ।

नाटकले बालबालिकालाई बुझ्नुपर्ने, उनीहरूको इच्छा, रुचि, र क्षमताअनुसार अध्ययन तथा अन्य क्रियाकलापमा सहभागी गराउनुपर्ने महत्वपूर्ण सन्देश सम्प्रेषण गर्यो । ग्यालेक्सी पब्लिक स्कुलका प्रधानाध्यापक शंकर यादव का अनुसार, समाजमा अझै पनि बालबालिकाको अभिरुचि नबुझी जबरजस्ती पढाइको विषय निर्धारण गर्ने, छोरीहरूलाई अध्ययनमा पछाडि पार्ने, र छोरा(छोरीबीच विभेद गर्ने प्रवृत्ति व्याप्त छ ।

यस प्रकारका नाटकहरूले अभिभावकहरूलाई सचेत गराउने र बालबालिकाको रुचि अनुसार अवसर दिन प्रेरित गर्ने विश्वास प्रधानाध्यापक यादवले व्यक्त गरेका थिए । सडक नाटकमा विद्यार्थीहरूले आफ्ना दमदार संवाद र जीवन्त अभिनय मार्फत उपस्थित दर्शकलाई प्रभावित पार्न सफल भए । बालबालिकाको मनोविज्ञान बुझ्नुपर्ने, उनीहरूको इच्छा र सपना बुझेर सहयोग गर्नुपर्ने, तथा जबरजस्ती थोपर्ने परम्परालाई अन्त्य गर्नुपर्ने कुरालाई नाटकले निकै मार्मिक रूपमा प्रस्तुत गरेको थियो ।

नाटक हेर्न आएका स्थानीय अभिभावक तथा अन्य दर्शकहरूले प्रस्तुत नाटक अत्यन्तै मन छुने रहेको प्रतिक्रिया दिए । अभिभावकहरूका अनुसार, आफ्ना सन्तानले समाज परिवर्तनको पक्षमा आवाज उठाइरहेको देख्दा उनीहरू गौरवान्वित महसुस
गरेका थिए । सडक नाटक हेर्न ठूलो सङ्ख्यामा स्थानीय बासिन्दा उपस्थित भएका थिए । अभिभावकहरूले आफ्ना छोराछोरीलाई समान रूपमा शिक्षा दिनुपर्ने, उनीहरूको रुचि बमोजिम अध्ययन गर्न प्रेरित गर्नुपर्ने जस्ता विषयबारे बुझ्न पाएको बताए ।

यस सडक नाटकले बालबालिकाका अधिकार, उनीहरूको भविष्यको निर्णयमा अभिभावकहरूको सकारात्मक भूमिकाको आवश्यकता, र छोरा– छोरीबीचको समान व्यवहार गर्नुपर्ने कुरामा जागरुकता ल्याउने महत्त्वपूर्ण भूमिका खेलेको छ । यस्ता सामाजिक सचेतना फैलाउने कार्यक्रमहरूलाई निरन्तरता दिनु आवश्यक रहेको स्थानीय अभिभावक तथा विद्यालय प्रशासनले बताएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस