
रौशन कुमार चौधरी
चैत ०९, रौतहट
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को दोस्रो नगर अधिवेशन कटहरिया नगरपालिकाको वडा नम्बर ६ फतेपुर जलैया बजारमा भव्य रूपमा सम्पन्न भएको छ। पार्टी संगठनलाई थप मजबुत बनाउने उद्देश्यले आयोजित अधिवेशन राजदेव सहनीको अध्यक्षतामा शनिबार सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथिका रूपमा स्थायी कमिटी सदस्य कल्याणी खड्का उपस्थित थिइन् । बिशिष्ट अतिथिका रूपमा केन्द्रीय कमिटी सदस्य तथा पूर्व जिल्ला विकास समिति उपसभापति रजुदिन आलम, राधामोहन यादव, स्थानीय नेताहरू, कार्यकर्ताहरू तथा शुभेच्छुकहरूको सहभागिता रहेको थियो।
नगर अधिवेशनमार्फत २५ सदस्यीय नगर संगठन कमिटी चयन गरिएको छ। पार्टीलाई स्थानीय स्तरमा मजबुत बनाउँदै जनताको विश्वास जित्नका लागि नेतृत्वदायी भूमिका खेल्ने गरी नयाँ समिति गठन गरिएको हो। अधिवेशनमा करिब १५० जना नेता, कार्यकर्ता तथा स्थानीय बासिन्दाको उत्साहजनक उपस्थिति रहेको थियो। प्रमुख अतिथि कल्याणी खड्काले आफ्नो सम्बोधनमा पार्टीलाई अझ सशक्त बनाउँदै आम जनताको पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
उनले पार्टीलाई थप व्यवस्थित गर्दै आगामी निर्वाचनमा सशक्त उपस्थिति जनाउने रणनीतिसहित अघि बढ्नुपर्ने धारणा
राखिन्। कार्यक्रममा अन्य नेताहरूले पनि आफ्ना धारणा राख्दै पार्टी संगठनलाई बलियो बनाउने विषयमा जोड दिए। बिशिष्ट अतिथि रजुदिन आलमले समाजवाद उन्मुख राज्य निर्माणका लागि पार्टीले जनस्तरसम्म संगठन विस्तार गर्नुपर्ने आवश्यकता औंल्याए।
राधामोहन यादवले वर्तमान राजनीतिक परिस्थितिमा समाजवादी धारको पार्टीहरूलाई एकताबद्ध गर्दै स्थानीय तहमा जनताको पक्षमा नीति निर्माण गर्नुपर्ने बताए।
कार्यक्रमका अध्यक्ष राजदेव सहनीले नगर कमिटी गठन भएपछि पार्टीको गतिविधि थप प्रभावकारी बन्ने र नगरको राजनीतिक परिदृश्यमा सकारात्मक परिवर्तन आउने विश्वास व्यक्त गरे । कार्यक्रमको अन्त्यमा प्रमुख अतिथि खड्काले पार्टीको नीति(नियमअनुसार अघि बढ्दै संगठनलाई बलियो बनाउन सबै एकताबद्ध भएर लाग्नुपर्ने बताउँदै अधिवेशनलाई सफलताको शुभकामना दिएकी थिइन्। यसरी, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को दोस्रो नगर अधिवेशन उत्साहजनक रूपमा सम्पन्न भएको छ, जसले नगरको राजनीतिक परिदृश्यमा नयाँ मोड लिने अपेक्षा गरिएको छ।
