गर्मियाम सुरु भएसंगै आगलागीमा बृद्धि, रौतहटको दुई ठाउंमा आगलगी, करिब दुई करोडको क्षति

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ बैशाख ७, आईतबार (१० महिना अघि)
  • ३ पटक पढिएको
गर्मियाम सुरु भएसंगै आगलागीमा बृद्धि, रौतहटको दुई ठाउंमा आगलगी, करिब दुई करोडको क्षति

रमेश कुमार यादब
बैशाख ०७, रौतहट

रौतहट जिल्लाको दुई अलग–अलग स्थानमा गएराति भीषण आगलागी हुँदा करिब दुई करोड रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ। जिल्ला सदरमुकाम गौर र भारतीय सीमासँग जोडिएको बौधिमाई नगरपालिका अन्तर्गत कोपवा गाउँमा भएको आगलागीबाट ठूलो मात्रामा क्षति भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ।

कोपवामा भीषण आगलागी, पक्की घर, गोदाम र सामग्री जलेर नष्ट बौधिमाई नगरपालिका–५ कोपवा निवासी धर्मेन्द्र जैसवालको तीन तल्ले पक्की घरको अन्डरग्राउन्डमा रहेको गोदाममा गएराति करिब ८ः३० बजे अचानक विद्युत सर्ट भएर आगलागी भएको थियो । आगोले गोदाममा भण्डारण गरिएको करिब १ करोड रुपैयाँ बराबरको कपडा र चप्पल पूर्ण रूपमा जलेको छ ।

साथै गोदाममा राखिएको १ थान मोटरसाइकलसमेत नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी दीपक कुमार रायका अनुसार आगलागीबाट तीन तल्ले घरमा पनि क्षति पुगेको छ । घरसहित कुल १ करोड ७६ लाख रुपैयाँ बराबरको क्षति भएको उनले जानकारी दिए ।

घटनाको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय कोपवा पिपरीयाबाट वरिष्ठ सई कुमार सेढाईको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो । त्यसपछि गौर नगरपालिकाको दमकल, बौधिमाई नगरपालिकाको दमकल र स्थानीय बासिन्दाको सहयोगमा आगो करिब १ घण्टा पछि नियन्त्रणमा आएको थियो ।।

सौभाग्यवश, उक्त घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । गौरको कबिरचोकमा पनि आगलागी, कच्ची घर र ५ मोटरसाइकल जले त्यसै राति करिब ९ बजे गौर नगरपालिका स्थित कबिरचोकमा कृष्णनन्दन पेटलको कच्ची बास र खरले छाएको घरमा पनि आगलागी भएको थियो ।

आगलागीको कारण प्रस्ट नखुले पनि सम्भावित कारण छोटो सर्किट वा खुला आगो भएको अनुमान गरिएको छ । डीएसपी रायका अनुसार आगलागीबाट करिब ४ लाख मूल्य बराबरको घर, बनाउने तयारीमा राखिएको ५ थान मोटरसाइकल, एक थान पानी तान्ने मोटर र अन्य सामान जलेर नष्ट भएको छ ।

कुल क्षति करिब २१ लाख रुपैयाँ बराबरको भएको छ । दुबै घटनामा करिब १ करोड ९७ लाख बराबरको सम्पति जलेर क्षति भएको बताईएको छ । प्रहरीका अनुसार पछिल्ला दिनहरूमा तराई(मधेशमा तापक्रम बढ्दै जाँदा आगलागीका घटना पनि उल्लेखनीय रूपमा वृद्धि भएका छन् ।

विद्युत सर्ट, चुरोट वा अन्य खुला आगोको प्रयोगले यस्ता घटनाहरू भइ रहेका छन् । प्रहरी प्रशासन र स्थानीय सरकारका निकायहरूले आगलागीबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि सचेतना कार्यक्रम, तयारी योजना र तत्काल उद्धार तथा दमकल सेवामा सक्रियता बढाउने तयारी थालेका छन् । प्रहरीले आगलागीको सम्भावित
कारणको अनुसन्धान जारी राखेको जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस