रौतहटमा कालोपत्रे सडकमै मकै सुकाउने प्रवृत्तिः दुर्घटनाको जोखिम बढ्दै

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ बैशाख १८, बिहिबार (१० महिना अघि)
  • २ पटक पढिएको
रौतहटमा कालोपत्रे सडकमै मकै सुकाउने प्रवृत्तिः दुर्घटनाको जोखिम बढ्दै

रमेश कुमार यादब
बैशाख १८, रौतहट

रौतहट जिल्लाको ग्रामीण भेगमा किसानहरूले कालोपत्रे सडकमा मकै तथा अन्य अन्नबाली सुकाउने क्रम तीव्र हुँदै गएको छ । यो प्रवृत्तिका कारण यातायात सुरक्षामा गम्भीर चुनौती देखिन थालेको छ ।त्यति मात्र नभएर कालोपत्रे सडकहरूमा जथाभावी रूपमा मकै र अन्य अन्नबाली सुकाउने कार्यले दुर्घटनाको जोखिम समेत बढाएको छ । सडकमा अन्नबाली सुकाउँदा विशेषगरी रातको समयमा सवारी दुर्घटनाको जोखिम अत्यधिक बढेको भन्दै स्थानीय बासिन्दा र सुरक्षाकर्मीहरूले चिन्ता व्यक्त गरेका छन् ।

अहिले जिल्लाको बृन्दावन, सन्तपुर, बालचनपुर, चन्द्रपुर, जुडीबेला, समनपुर लगायतका क्षेत्रमा किसानहरू सडकमा मकैको बिस्कुन (छिल्का) तथा मकैका भुट्टा समेत फिँजाएर सुकाउने गरेको पाइन्छ । बृन्दावन नगरपालिकाको वार्ड नं. ३ निवासी किसान
सत्यनारायण यादव (ब्यास)का अनुसार खेतमा उत्पादन भएको मकै राम्रोसँग सुकाउन सजिलो हुने भएकाले सडकमा नै सुकाउने गरिएको हो ।

“एकैपटक भित्याएको मकै गुन्द्री र त्रिपालमा सुकाउन गाह्रो पर्छ,“ यादवले भन्नुभयो, “सडक त घाम राम्रो लाग्ने र सिधा छ, त्यसैले छिटो सुक्छ । व्यापारीहरू पनि सडकबाटै मकै उठाएर लैजान्छन्, हामीलाई पनि सजिलो हुन्छ ।“ यस वर्ष यादवले २ बिगाहा जमिनमा हाइब्रिड जातको मकै लगाउनुभएको थियो । उहाँले त्यो मकै खेत छेउकै सडकमा सुकाएर स्थानीय व्यापारीलाई बेचिसक्नुभएको जानकारी दिनुभयो ।

तर, सडकमा मकै सुकाउँदा केही स्थानमा त आधा सडक नै ढाकिएको देखिन्छ । यातायात सुरक्षामा खटिएका एक स्थानीय सुरक्षाकर्मीले रातिको समयमा गस्ती गर्दा ठूला–ठूला मकैका थुम्साहरू सडकभरि छरिएको अवस्थामा देखिने गरेको बताउनुभयो । “रातको समय, झ्याल अन्धकार अनि सडकभरि बिस्कुन छरिएको छ,” उहाँले भन्नुभयो, “यसले त सिधै दुर्घटनाको कारण बन्न सक्छ, विशेषगरी मोटरसाइकल र साइकल चढ्ने यात्रुहरूका लागि ।

” स्थानीय निकायले पटकपटक सडकमा यस्ता कार्य नगर्न अनुरोध गरे पनि पर्याप्त निगरानी र कारवाही नहुँदा समस्या दिनानुदिन बढिरहेको छ । यातायात विद्हरूका अनुसार सडकमै अन्न सुकाउने कार्यले चालकहरूको ध्यान भंग गराउँछ र ब्रेक लगाउन ढिलो हुँदा दुर्घटना हुनसक्छ ।

स्थानीय सरकार र प्रहरी प्रशासनले यो समस्याको दीर्घकालीन समाधानका लागि वैकल्पिक अन्न सुकाउने स्थल निर्माण गर्ने योजना बनाउनु आवश्यक रहेको विज्ञहरूको भनाइ छ । यदि तत्काल नियन्त्रण गरिएन भने यो प्रवृत्तिले ग्रामीण सडकमा ज्यान गुमाउने दुर्घटनाको जोखिमलाई अझ बढाउने निश्चित देखिन्छ ।

ताजा अपडेट

खोजी गर्नुहोस