तीन दलका शीर्ष नेताको बैठकमा सहभागी भएनन् प्रचण्ड

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ बैशाख १९, शुक्रबार (१० महिना अघि)
  • २ पटक पढिएको
तीन दलका शीर्ष नेताको बैठकमा सहभागी भएनन् प्रचण्ड

काठमाडौँ १९, वैशाख। प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार साँझ बोलाएको तीन दलका शीर्ष नेताको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी भएनन् ।

पहिला प्रचण्डलाई तीन नेताबिचको छलफल प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा राखिएको भनेर खबर गरिएको थियो । ५ बजेका लागि बोलाएको बैठकमा प्रचण्ड जाने मनस्थितिमै थिए । तर पौने पाँच बजे छलफल स्थल परिवर्तन गरेर सिंहदरबार राखिएको भन्दै सिंहदरबार आउन प्रचण्डलाई पुन: खबर गरियो । 

सोही अनुसार प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवा पाँच बजे नै सिंहदरबार पुगिसकेका थिए । खासगरी तीन नेताको छलफलको एजेन्डा सङ्क्रमणकालीन न्यायमा सहमति जुटाउने थियो । 

यसको चाँजोपाँजो प्रधानमन्त्रीका सङ्क्रमणकालीन सल्लाहकार अग्नी खरेलले मिलाएका थिए । सोही अनुसार तीन नेताबिच भेटवार्ताको तय गरिएको थियो ।  तर, सिंहदरबारमा ओली र देउवाले प्रचण्डलाई तोकिएको समयभन्दा आधा घण्टाभन्दा बढी कुरे पनि प्रचण्ड बैठकमा पुगेनन् । 

अनि प्रधानमन्त्रीको सचिवालयले प्रचण्डलाई सम्पर्क गर्दा समय अभाव भन्ने जवाफ पायो । प्रचण्ड  नगएपछि उनीविनै ओली र देउवाले सिंहदरबारमा केहीवेर कुराकानी गरेका छन् । 

यसअघि सरकारले टीआरसीका विषयमा छलफल गरेलगत्तै कुलमान हटाउने निर्णय गरेको थियो । त्यसपछि प्रचण्डमाथि टीआरसीसँग कुलमान साटेको  आरोप समेत लागेको थियो । 

यसपटक पनि सरकारले कुनै निर्णय गर्ने अनि आफूलाई मुछ्नेगरी बोलाइएको त होइन भन्ने आशङ्का प्रचण्डलाई छदै थियो । 

‘यसअघिको बैठकमा झुक्याइँयो र कुलमान हटाइयो यो पटक पनि टीआरसीको छलफल गर्ने भनेर तत्काल गभर्नर नियुक्ति गर्ने र प्रचण्डको समेत सहमतिमा गरेको भन्ने प्रचार नहोला भन्न सकिँदैन त्यसले पनि बोलाउनेवित्तिकै गइहाल्न नसक्ने स्थिति बन्यो’, प्रचण्डको सचिवालयले भन्यो, ‘नेता भेट्न पनि धेरै सोचविचार गर्नुपर्ने देखियो । ’

ताजा अपडेट

खोजी गर्नुहोस