डुमरियामा सवारी दुर्घटना न्यूनीकरण तथा बजार व्यवस्थापन सम्बन्धी अन्तक्रिया कार्यक्रम सम्पन्न

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ जेष्ठ ६, सोमबार (९ महिना अघि)
  • २ पटक पढिएको
डुमरियामा सवारी दुर्घटना न्यूनीकरण तथा बजार व्यवस्थापन सम्बन्धी अन्तक्रिया कार्यक्रम सम्पन्न

रमेश कुमार यादब
जेष्ठ ०४, रौतहट

चन्द्रपुर नगरपालिका–९ डुमरियामा सवारी दुर्घटना न्यूनीकरण तथा बजार व्यवस्थापनसम्बन्धी एक महत्वपूर्ण अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । डुमरियास्थित अस्थायी ट्राफिक प्रहरी पोस्ट तथा इलाका प्रहरी कार्यालयको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रमले स्थानीय स्तरमा बढ्दो सवारी दुर्घटनाको समस्यालाई न्युनिकरण गर्न विभिन्न उपायहरूको सुझाव प्रस्तुत गर्दै
सरोकारवाला निकायहरूबीच समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिएको छ ।

कार्यक्रमको अध्यक्षता इलाका प्रहरी कार्यालय डुमरियाका प्रहरी नायब निरीक्षक (प्र.ना.नि) जयप्रकाश मण्डलले गरेका थिए भने प्रमुख अतिथिको रूपमा चन्द्रपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष नवराज देवकोटा सहभागी थिए । कार्यक्रममा ट्राफिक सुरक्षाका लागि अपनाइनुपर्ने विभिन्न उपायहरूबारे जानकारी गराइयो ।

विशेषत ः मोटरसाइकल चालकहरूले अनिवार्य रूपमा हेल्मेट लगाउनु पर्ने, तीन जना सवारी चढ्न निषेध गरिनु पर्ने, सडक किनारमा अनधिकृत रूपमा पसल राख्न नपाइने, ई–रिक्सा तथा अन्य सवारी साधनहरूलाई निर्धारित स्थानमा मात्र पार्किङ्ग गर्नुपर्ने जस्ता महत्वपूर्ण विषयमा छलफल गरिएको थियो । साथै अब्यवस्थित रूपमा पार्किङ्ग गरिए कानुनी कारबाही हुने समेत जानकारी गराईएको थियो ।

वडाध्यक्ष नवराज देवकोटाले कार्यक्रमलाई सम्बोधन गर्दै सबैभन्दा पहिले यस्ता जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेकोमा टूाफिक प्रहरी तथा इलाका प्रहरी कार्यालयलाई धन्यवाद दिए । उनले भने, “यस्ता कार्यक्रमले आम नागरिकमा सचेतना फैलाउने काम गर्छ । तर, यो कार्य एक जनाको प्रयासले मात्र सम्भव हुँदैन ।

सबैले आ(आफ्नो ठाउँबाट सचेत र जिम्मेवार बनेर लाग्नुपर्छ ।“ उनले सवारी दुर्घटनाको मुख्य कारणका रूपमा मादक पदार्थ सेवन, गाजा प्रयोग, ओभर स्पिड, मोबाइल चलाउँदै सवारी सञ्चालन लगायतका लापरवाहीलाई औंल्याउँदै जनचेतना र प्रहरीको कडाइ दुवैको संयोजन आवश्यक रहेको बताए ।

त्यसतै अस्थायी ट्राफिक प्रहरी पोस्ट डुमरियाका प्रहरी नायब निरीक्षक सुबोध कुमार सिंहले हालसम्मका प्रयासबारे जानकारी दिँदै भने, “हामी दिनहुँ चौक बजार लगायत स्थानहरूमा नियमित रूपमा चेकिङ्ग गर्दै आएका छौं । तर, जनताको पूर्ण साथबिना सवारी दुर्घटना न्यूनीकरण सम्भव छैन । सबै पक्षको सहयोग आवश्यक छ ।“ उनले ट्राफिक नियमको पालना गराउने जिम्मेवारी प्रहरीको भए पनि नागरिकले आफै सचेत हुनुपर्नेमा विशेष जोड दिए ।

त्यसतै कार्यक्रमको समापन मन्तव्यमा इलाका प्रहरी कार्यालय डुमरियाका प्र.ना.नि जय प्रकाश मण्डलले मधेश क्षेत्रमा सडक संरचनाको अवस्था कमजोर भएको र खाल्डाखुल्डी सडकका कारण सवारी दुर्घटनाको सम्भावना झनै बढेको उल्लेख गरे । उनले भने, “सवारी चालकले यस्तो अवस्थामा झन् बढी सावधानी अपनाउनुपर्ने हुन्छ । हामी सबैले सवारी चलाउँदा ध्यानपूर्वक, ट्राफिक नियमको पालना गर्दै जीवनको सुरक्षामा विशेष ध्यान दिनुपर्छ ।“सोहि दुघर्टना न्युनिकरण गर्न ११ सदस्य समिति गठन समेत गर्नु भएको थियो ।

कार्यक्रममा वडा कार्यालयका प्रतिनिधिहरू, स्थानीय व्यवसायी, टेम्पु, रिक्सा तथा मोटरसाइकल चालकहरू, युवा क्लबका प्रतिनिधिहरू, अस्थाई ट्राफिक प्रहरी पोस्ट डुमरियाका प्रहरी हल्वदार रामप्रसाद चौलागाई, सहायक हवल्दार जयप्रकाश यादब, प्रहरी जवान लिलेश कुमार यादब, लगायत सरोकारवाला निकायहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रममा उपस्थित सबैले यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिनुपर्ने र स्थानीय स्तरमै सहकार्य गरेर समस्याको समाधान खोज्नुपर्ने धारणा व्यक्त गरेका थिए । यस अन्तक्रिया कार्यक्रमले डुमरिया क्षेत्रका नागरिकलाई सवारी दुर्घटना न्यूनीकरण तथा बजार क्षेत्रको सुशासन कायम गर्न महत्वपूर्ण प्रेरणा प्रदान गरेको आयोजकले बताएका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस