रसुवा भन्सार सुन तस्करी : सुनको मालिक को ?

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ जेष्ठ ६, सोमबार (९ महिना अघि)
  • २ पटक पढिएको
रसुवा भन्सार सुन तस्करी : सुनको मालिक को ?

काठमाडौँ,०५ जेठ। तिब्बतको केरुङबाट स्याउको कन्टेनरमा ल्याउँदै गरेको ७ किलो ६ सय ५३ ग्राम सुन आइतबार रसुवा भन्सारहातामा बरामद भयो। तर सुन कसको हो भनेर खुलेको छैन। प्रहरीले कन्टेनर चालक किशोर भुजेललाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख डीएसपी हेमबहादुर शाहीले बरामद भएको सुनका सम्बन्धमा अनुसन्धान भइरहेको बताए। प्रहरीले कन्टेनर चालक भुजेललाई सोधपुछ गरिरहेको छ। तर भुजेलले सुनको मालिक को हो भनेर मुख खोलेका छैनन्।

‘हामीले चालक भुजेललाई पटक-पटक सोधपुछ गरिरहेका छौँ। तर उनले थाहा नभएको बताउँछन्,’ डीएसपी शाहीले भने। नाकाबाट केरुङ जाने अधिकार रसुवावासीलाई मात्र छ। काठमाडौँबाट लगेको खाली कन्टेनरलाई रसुवा स्थायी ठेगाना उल्लेख भएको पास पाएका चालकले मात्र तिब्बती भूभाग केरुङ लैजान पाउँछन्।

सोही व्यवस्था अनुसार रसुवाको गोसाईंकुण्ड गाउँपालिका‐५ का २४ वर्षीय किशोरले कन्टेनर केरुङ लगेका थिए। कन्टेनरमा ‘फल्स बटम’ बनाएकाले चालक वा मालिकको सहमतिविना यस्तो संरचना बनाउन सकिँदैन । फल्स बटम बनाउन कन्टेनरको संरचना नै बिगार्नुपर्छ ।

चालकलाई थाहै नभई सुनलाई ‘फल्स बटम’ बनाएर ल्याउने सम्भावना नभएको प्रहरी स्रोतको भनाइ छ । तर चालकले आफूले कन्टेनर हाँकेर ल्याएको तर सुनको विषयमा जानकारी नभएको प्रारम्भिक बयान दिएका छन्।

यसरी बयान दिएको यो पहिलो घटना पनि होइन। भन्सारका कर्मचारी भन्छन्, ‘बरु ढुङ्गो बोल्छ होला। तर चालक बोल्दैनन्।’ यस अघिका घटनामा पनि चालक वा भरियाको बयान यस्तै-यस्तै हुने गरेको डीएसपी शाही बताउँछन्।

त्यहीकारण अहिलेसम्मका अधिकांश सुन बरामद प्रकरणमा भरिया पक्राउ पर्छन्। तर मालिक कहिल्यै भेटिँदैनन्। तातोपानी नाकामा पनि विशेषतः भूकम्प अघि धरै पटक सुन बरामद भएको थियो। धरै जसो मालिक पत्ता नलागेरै मुद्दा फैसला हुने गरेको छ।

अहिले तातोपानी नाकाबाट तिब्बततर्फ मान्छेको आउजाउ गर्न भूकम्पपछि रोक लगाइएपछि सुनको चोरी पैठारी रसुवाबाट सुरु भएको देखिन्छ।

स्रोतका अनुसार चालक वा भरियालाई मालिकको पहिचान नखुलाउन पहिल्यै ग्यारेन्टी गरिएको हुन्छ। जेल परेमा उसको सबै प्रक्रियामा लाग्ने खर्च र परिवारको रेखदेखसम्मको ग्यारेन्टी गरिने भएको उनीहरूले मालिक बताउन नचाहने प्रहरीको भनाइ छ। त्यसैले सुनको मालिक पत्ता नलाग्ने तर भरियाले जेल बस्नुपर्ने समस्या रहेको छ।

आइतबार पक्राउ परेका भुजेललाई प्रहरीले सोमबार (आज) सुनसहित भन्सारमा बुझाउने तयारी गरेको छ । कन्टेनर चालकले आफू बस्ने सिट नजिकै ‘फल्स बटम’ बनाएर ल्याएको उक्त सुनको ७ वटा बिस्कुट आकारको र केही साना टुक्रा रहेको छ ।

रसुवा प्रहरीले पाएको सुराकीको आधारमा बा ४ ख ६२०१ नम्बरको कन्टेनरलाई मितेरी पुल पार गरे लगत्तै नियन्त्रणमा लिएको थियो । डीएसपी शाही सुनको सुराकी पाएपछि सदरमुकामबाट रसुवा नाका गएका थिए । उनी सुराकीको आधारमा केही दिनदेखि नाकाबाट आउने कन्टेनरको निगरानीमा थिए। नाकामा सशस्त्र र नेपाल प्रहरी तथा भन्सार कर्मचारीले कन्टेनरको जाँच गरेका थिए ।

भन्सार प्रमुख तुलसीप्रसाद भट्टराईले स्याउ बोकेको उक्त कन्टेनरलाई नियन्त्रणमा लिइएको जानकारी दिए। प्रहरीले प्रतिवेदनसहित चालकलाई भन्सारलाई बुझाउने छ। एक करोड मूल्य बराबरको सुनको मुद्दा छिनोफानो गर्ने अधिकार भन्सार प्रमुखलाई नै हुने व्यवस्था छ । तर बजार मूल्य अनुसार बरामद भएको सुनको मूल्य एक करोड बढी हुने भएकाले जिल्ला अदालतमा मुद्दा पेश गर्नुपर्नेछ ।

सुन भने अदालतमा दसीको रूपमा देखाएर नेपाल राष्ट्र बैङ्कलाई बुझाउने भन्सार प्रमुख भट्टराईले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस