
सर्लाही,०६ जेठ। सर्लाहीको पर्सा गाउँपालिका क्षेत्रबाट नेपाली नक्कली नोट सहित दुई जनालाई प्रहरीले पक्राउ गरी कारवाही प्रक्रिया अघि बढाएको छ ।
पर्सा गाउँपालिका वडा नम्वर ६ स्थित हुलाकी सडकखण्डमा प्रहरी चौकी पर्साले थापेको सरप्राइज चेकजाँचको क्रममा विआर ३० एपी ७५३९ नम्वरको मोटरसाइकललाई रोकेर चेकजाँच गर्दा ५०० का दरका ४८ थान नेपाली नक्कली नोट सहित दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको हो ।
पक्राउ पर्नेमा पर्सा गापा ६ का रामदेव साहको २१ बर्षीय छोरा मुकेशकुमार साह र हरिपुर्वा नपा ४ डुमरियाका विकाउ पण्डितका २३ बर्षीय छोरा सरोज पण्डित कुम्हारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी सरोज राईले जानकारी दिए ।
मोटरसाइकल चालक मुकेशको साथबाट नेपाली नक्कली रुपैया ५ सयको ४८ थान बरामद भएको सोही मोटरसाइकलमा पछाडी सवार कुम्हार सहित दुबै जनालाई सर्लाही जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर आवश्यक अनुसन्धान भईरहेको डिएसपी राईले भने ।
