राजपुर अनुगमन गर्न गएका कर्मचारीमाथि आक्रमण

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ जेष्ठ ७, मंगलबार (९ महिना अघि)
  • २ पटक पढिएको
राजपुर अनुगमन गर्न गएका कर्मचारीमाथि आक्रमण

वीरगञ्ज,०६ जेठ। रौतहटको राजपुर नगरपालिका–४ मा अवैध औषधी पसल अनुगमनका लागि पुगेका औषधी व्यवस्था विभागका कर्मचारीहरूमाथि आक्रमण भएको छ। आक्रमणमा विभागका दुई कर्मचारी र एक स्थानीय महिला घाइते भएका छन्।

वीरगञ्जस्थित औषधी व्यवस्था विभाग क्षेत्रीय कार्यालयका प्रमुख शम्भु साहका अनुसार, दर्ता नगरी औषधी बिक्री भइरहेको उजुरीका आधारमा अनुगमन टोली निरीक्षणका लागि गएको बेला स्थानीयले प्रतिकार गर्दै आक्रमण गरेका हुन्।

आक्रमणमा परेका फार्मेसी निरीक्षक ओमप्रकाश जयसवाल र फार्मेसी अधिकृत अमर शर्मालाई सामान्य चोटपटक लागेको छ। त्यस्तै, अनुगमन टोलीको बचाउ गर्ने क्रममा स्थानीय ५५ वर्षीया सुमित्रा देवी घाइते भइन्। उनलाई प्रादेशिक अस्पताल गौरमा उपचारको लागि भर्ना गरिएको छ।

घटनाका बेला अनुगमन टोलीमा जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक रुद्रराज कँडेल र जिल्ला प्रशासन कार्यालयका खरिदार उमेशप्रसाद समेत सहभागी थिए। स्थानीयको आक्रमणका क्रममा प्रहरी निरीक्षक कँडेलको मोबाइल फुटाइएको छ भने अनुगमन टोलीका केही कागजात खोसिएको जनाइएको छ

अनुगमनको निशानामा रहेका राजपुर–५ निवासी शेख नेक महम्मदले हार्डवेयर पसलको बोर्ड राखेर औषधी पसल सञ्चालन गर्दै आएको आरोप छ। वर्षौंदेखि दर्ता नगरी औषधी बिक्री भइरहेको उजुरीका आधारमा विभागीय टोली उक्त स्थानमा पुगेको थियो।

घटनापछि थप प्रहरी बल परिचालन गरिएकाले कर्मचारीहरूको उद्धार सुरक्षित रूपमा गरिएको जिल्ला प्रशासन कार्यालय रौतहटका खरिदार उमेशप्रसादले जानकारी दिएका छन्।
प्रहरी प्रशासनले आक्रमणमा संलग्नको पहिचान र अनुसन्धान सुरु गरिएको जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस