सर्लाहीमा काँग्रेस–माओवादीबीच तनाव

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ जेष्ठ ९, बिहिबार (९ महिना अघि)
  • ३ पटक पढिएको
सर्लाहीमा काँग्रेस–माओवादीबीच तनाव

सर्लाही,०८ जेठ। गोडैता नगरपालिका–६, बगदहस्थित हुलाकी राजमार्गमा स्कार्पियो जिप पल्टिएपछि नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरूबीच तीव्र आरोप–प्रत्यारोप सुरु भएको छ। गोली प्रहार, ढुंगामुढा, लखेटी–धकेली, र योजनाबद्ध हत्या प्रयासको आरोपसँगै घटनाले स्थानीय राजनीतिमा तरंग ल्याएको छ।

दुर्घटनामा परेका नेपाली काँग्रेसका रामनगर गाउँपालिका अध्यक्ष पदका उम्मेदवार हरिनन्दन यादवले आफू सवार बीआर ०५ पीए ८६३५ नम्बरको स्कार्पियोमाथि योजनाबद्ध हमला भएको दाबी गरेका छन्।

यादवका अनुसार, आज बिहान उनी जनकपुर गइ मलंगवा फर्किएर घर फर्किँदै थिए। मोहन चौक नजिकको हुलाकी सडक खण्डमा १०० मिटर पुर्व पुल नजिक एक समूहले घेराउ गर्दै फायरिङ गरेको आरोप उनले लगाए।

“मैले तुरुन्तै चालकलाई गाडी भगाउन भने, त्यसपछि दर्जनौँ व्यक्तिले काठको चिरफटाहा र ढुंगामुढा हानी गाडीको सिसा फुटाइदिए,” यादवले भने। उनले आफ्नो गाडीलाई २ किलोमिटरसम्म पछ्याउँदै अगाडि–पछाडिबाट घेरेर धक्का दिँदा गाडी पल्टिएको दाबी गरे।

यता नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व संविधानसभा सदस्य माननीय शिवपुजन रायका पक्षले भने उक्त घटना राजनीतिक प्रतिशोधकाे हिस्सा भएको दाबी गरेका छन्।

रामनगर गाउँपालिकाका अध्यक्ष राजाबाबु यादवका अनुसार, जन्ती गइरहेका शिवपुजन रायका छोरा र भतिजामाथि काँग्रेस निकट विष्णु राय यादवको समूहले हमला गरेपछि, विष्णुमाथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको थियो। यद्यपि, अदालतबाट पक्राउ पुर्जी जारी भएपनि काँग्रेसका उम्मेदवार हरिनन्दन यादवको संरक्षणमा आरोपी खुलेआम हिँडेको र प्रहरीले समेत अपराधीलाई संरक्षण गर्दै कुनै कारबाही नगरेको आरोप लगाएका छन्।

“हामीले प्रतिकार गरेनौं, कानुनी बाटो रोज्यौं। आरोपी विष्णुलाई पक्राउ गराउन खोज्दा काँग्रेस पक्ष भागे र गाडी पल्टियो,” — अध्यक्ष राजाबाबु यादवले भने । प्रहरीले आरोपितलाई पक्राउ नगरी संरक्षण गरिरहेको आरोप लगाएका छन्।

प्रहरीलाई आरोपी बुझाउन लैजाँदै गर्दा काँग्रेस पक्ष आत्तिएर भाग्ने क्रममा गाडी पल्टिएको दाबी गरिएको छ।आज रातमा नेकपा माओवादीले अध्यक्ष राजाबाबु यादवको नेतुत्वमा बिर्ता चौकमा यो घटनाको विषयलाई लिएर विरोध गरेका छन। घटनाको सत्यतथ्य रुपमा अनुसन्धान गर्न प्रशासनसंग माग गरेका छन।

यता हरिनन्दन यादवले भने माओवादी पक्षबाट सुनियोजित आक्रमण गरिएको र आफ्ना सहयोगीमाथि ज्यान लिने उद्देश्यले हमला भएको आरोप लगाएका छन्। उनले फायरिङसमेत भएको बताउँदै दोषीलाई कडा कारबाहीको माग गरेका छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी सरोज राईका अनुसार घटनामा दुईवटा गाडी संलग्न थिए र लखेटपछिको तनावमा स्कार्पियो पल्टिएको पुष्टि भएको छ।


उनले घटनामा स्थानीयस्तरमा जारी चुनावी होडबाजी र आपसी वर्चस्वको प्रतिस्पर्धाले राजनीतिक तनाव चुलिएको संकेत दिइरहेको छ। काँग्रेसले माओवादीमाथि योजना अनुसार ज्यान मार्न खोजिएको आरोप लगाइरहेका छन् भने माओवादी पक्ष काँग्रेसलाई आरोपी लुकाउने र मुद्दालाई राजनीति गर्ने प्रयास गर्दैछ भनी आरोप लगाइरहेका छन्।

यसबीचमा प्रहरी प्रशासनले निष्पक्ष अनुसन्धान र दुवै पक्षको कानुनी जिम्मेवारी सुनिश्चित गर्न दबाब बढ्दै गएको छ। नागरिकस्तरमा राजनीतिक संरक्षणका नाममा अपराधी उम्कन नदिन स्थानीयवासी माग गरेका छन।

ताजा अपडेट

खोजी गर्नुहोस