
सुनसरी,१० जेठ। सुनसरीको बराहक्षेत्र नगरपालिका-३ स्थित कालिन्द्र सामुदायिक वन क्षेत्रमा प्रहरीले गोली चलाएको छ। इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट ड्युटीमा खटिएको प्रहरीले शनिबार साँझ गोली चलाएको हो।
प्रहरी टोलीलाई देख्ने बित्तिकै वनभित्र बोरा बोकी आइरहेका ४/५ जना भागेका थिए। उनीहरुलाई नियन्त्रणमा लिनका लागि गोली चलाएको सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले बताए।
त्यहाँ भएकामध्ये बराहक्षेत्र-३ का ५५ वर्षीय राम प्रसाद लिम्बुले धारिलो हतियार खुकुरी निकालेर प्रहरी टोलीलाई प्रहार गर्न खोजेपछि एक राउण्ड गोली हानेको एसपी तिम्सिनाले बताए।
‘उनले भने, लिम्बुले खुकरी प्रहार गर्न खोजेपछि आत्मरक्षाका लागि दुई राउण्ड हवाई फायर गरेर निजको दाहिने खुट्टाको घुँडा मुनी एक राउण्ड गोली हानेको हो।’
घाइते भएका लिम्बुलाई नियन्त्रणमा लिई उपचारका लागि प्रहरी निरीक्षक दिवस कुँवरको टोलीले बिपि कोइराला स्वास्थ्य प्रतिष्ठान ल्याएर उपचार गरिरहेको छ। घाइते लिम्बुको अवस्था खतरामुक्त रहेको बताइएको छ।
घटनास्थलबाट घरेलु हतियार खुकुरी -१ थान, रुख काट्ने गिडुवा आरा थान-१ , तिखो खन्ती थान -१ समेत बरामद गरिएको एसपी तिम्सिनाले बताए। घटनास्थलमा इलाका प्रहरी कार्यालय धरानका डीएसपी प्रकाश जबेगुको नेतृत्वमा थप प्रहरी परिचालन गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
