आठ महिनामा ८ करोडभन्दा बढी राजस्व संकलन

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ जेष्ठ १२, आईतबार (९ महिना अघि)
  • ३ पटक पढिएको
आठ महिनामा ८ करोडभन्दा बढी राजस्व संकलन

बारा,११ जेठ। मधेश प्रदेश सरकारअन्तर्गत श्रम तथा यातायात मन्त्रालय मातहतको यातायात व्यवस्था कार्यालय, कलैयाले चालु आर्थिक वर्ष २०८१/८२ को साउन १ गतेदेखि जेठ ६ गतेसम्मको अवधिमा ८ करोड २१ लाख ७० हजार रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ।

कार्यालयले सबैभन्दा बढी ३ करोड ८३ लाख ८७ हजार रुपैयाँ सवारी कर शीर्षकबाट संकलन गरेको जानकारी कार्यालय प्रमुख अविन्दर दासले दिएका छन्। अन्य शीर्षकहरूमा पनि उल्लेख्य आम्दानी भएको छ।

उनका अनुसार: अनुमति पत्र पास (नयाँ) शीर्षकमा — १ करोड ७९ लाख ६५ हजार, अनुमति पत्र दर्ता (नयाँ) बाट — ८३ लाख ७६ हजार, पटके शीर्षकमा — ३९ लाख ९२ हजार ४०, दर्ता (थप) बाट — ३३ लाख ६२ हजार, नवीकरण शीर्षकमा — २७ लाख १६ हजार, त्यसैगरी अन्य विविध शुल्क तथा अकर शीर्षकहरूबाट पनि उल्लेखनीय राजस्व आम्दानी भएको छ।

कार्यालय प्रमुख दासका अनुसार, राजस्व संकलनमा देखिएको वृद्धि सेवा प्रवाहमा पारदर्शिता, डिजिटल प्रणालीको प्रभावकारी प्रयोग र उत्तरदायित्वयुक्त प्रशासनिक व्यवस्थापनकै परिणाम हो। माघ ८ गतेदेखि कार्यालयको जिम्मेवारी सम्हालेका प्रमुख दासले आफ्नो कार्यकालपछि मासिक औसत राजस्व संकलनमा करिब ६१ लाख रुपैयाँले वृद्धि भएको दाबी गरेका छन्।

उनले भने, “सेवाप्रवाहलाई सहज, पारदर्शी र उत्तरदायी बनाउन कर्मचारी व्यवस्थापन, अनुगमन र प्रविधिको प्रयोगमा विशेष ध्यान दिइएको छ। डिजिटल प्रणालीको प्रभावले सेवाग्राहीहरू सन्तुष्ट छन् र कर तिर्ने तथा सवारीसम्बन्धी कार्यहरू सहज ढंगले हुन थालेका छन्।”

सीमावर्ती क्षेत्र कलैयामा अवस्थित यस कार्यालयमा देखिएको सुधारलाई प्रदेश सरकारको प्रशासनिक सक्रियता र संस्थागत क्षमताको प्रतिबिम्बका रूपमा हेरिएको छ। आगामी दिनमा अझ प्रविधिमैत्री, पारदर्शी र जनउत्तरदायी प्रणालीमार्फत राजस्व संकलनमा थप वृद्धि हुने अपेक्षा गरिएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस