कार्यालय प्रमुखमाथि हातपातको विरोधमा कैलाली भन्सार कार्यालय ठप्प

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ जेष्ठ १३, सोमबार (९ महिना अघि)
  • २ पटक पढिएको
कार्यालय प्रमुखमाथि हातपातको विरोधमा कैलाली भन्सार कार्यालय ठप्प

कैलाली,१२ जेठ। कैलाली भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत अनन्तप्रसाद तिम्सिनामाथि कुटपिट भएको विरोधमा भन्सार कार्यालय ठप्प भएको छ । धनगढी उपमहानगरका नगर प्रहरी प्रमुख लक्ष्मणसिंह धामीसहितको टोलीले शनिबार राति १० बजेतिर भन्सार कार्यालय परिसरमा तिम्सिनामाथि कुटपिट गरेको थियो ।

कार्यालय प्रमुखमाथि कुटपिट भएको विरोधमा भन्सार कार्यालयका कर्मचारी एजेन्टले आइतबार दिनभर कार्यालयको कामकाज ठप्प पारेका छन् । सुरक्षाको माग गर्दै कर्मचारी कुटपिटको विरोधमा उत्रिएपछि कैलाली भन्सार कार्यालयबाट आइतबार कुनै पनि सामान आयात–निर्यात भएन ।

कैलाली भन्सार कार्यालयले अहिले दैनिक करिब तीन करोड रुपैयाँ राजस्व संकलन गर्छ । कार्यालयको सेवा बन्द भएपछि आइतबार राजस्व संकलन नभएको कैलाली भन्सार कार्यालयका सूचना अधिकारी भन्सार अधिकृत खिम अर्यालले बताए । ‘कार्यालय प्रमुखमाथि कुटपिटपछि असुरक्षा महसुस गरेका छौँ, काम गर्ने वातावरण छैन,’ उनले भने, ‘कुटपिटमा संलग्नलाई कारबाही र सुरक्षाको ग्यारेन्टी हुनुपर्ने माग गरेर पेनडाउन गरेका हौँ ।’ आयात रोकिएपछि व्यवसायी मारमा परेका छन् । यो नाकाबाट निर्यात भने खासै हुँदैन ।

सार्वजनिक भएको सिसिटिभी फुटेजमा कार्यालय परिसरभित्र भन्सार प्रमुख तिम्सिनामाथि कुटपिट भएको देखिन्छ । नगर प्रहरी र भन्सार प्रमुखबिच भन्सारको ब्यारियलनजिक विवाद भएको र कार्यालय परिसरभित्र प्रवेश गरेपछि कुटपिट भएको हो । एउटा स्कारपियोले धनगढी–अत्तरिया ६ लेन सडकको मिडियनमा लगाएको जाली भत्काएर भागेको सूचनापछि नगर प्रहरी प्रमुख धामी नेतृत्वको टोली गाडी खोज्न राति कैलाली भन्सारको बेरियलसम्म पुगेको थियो ।

सूचना अधिकारी अर्यालले कार्यालय प्रमुख तिम्सिना खाना खाएर राति ब्यारियल बन्द गरेको छ/छैन भनेर हेर्न आएको र त्यहाँ खटिएका कर्मचारीलाई ब्यारियल राम्रोसँग बन्द गर्नू भनी निर्देशन दिएर फर्कने क्रममा नगर प्रहरीले कुटपिट गरेको बताए । ‘हाम्रो गाडी चेकजाँच गर्ने को हो भनेर भन्सारभित्रै प्रवेश गरेर निर्घात कुटपिट भएको हो,’ अर्यालले भने, ‘सिसिटिभी रहेको थाहा पाएपछि नभएको ठाउँमा लगेर लछारपछार गरिएको छ ।’

नगर प्रहरी निरीक्षक धामीले भने मापसे गरेको अवस्थामा सडकमा भेटिएका भन्सार प्रमुखसँग सामान्य धरपकड मात्र भएको दाबी गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस