
सर्लाही,१४ जेठ। बर्दिवासमा अवैध लागुऔषध गाँजाको ठूलो परिमाणसहित दुई जना सर्लाही निवासी युवा पक्राउ परेका छन्। पक्राउ पर्नेहरुमा सर्लाहीको हरिवन नगरपालिका–५, घुर्कोलीका ३५ वर्षीय लालबाबु साह र सोही नगरपालिका–३, बुद्धचोकका २१ वर्षीय अभिषेक परियार छन्।
इलाका प्रहरी कार्यालय बर्दिवास र लागुऔषध नियन्त्रण ब्युरोको संयुक्त टोलीले उनीहरूलाई सोमबार बिहान बर्दिवास नगरपालिका–१ स्थित शुभ स्वस्तिक अस्पताल अगाडिबाट नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार परियार सवार बा ११ च ३४९४ नम्बरको स्कारपियो गाडीको नियमित चेकजाँचका क्रममा सो गाडीभित्र लुकाइएको अवस्थामा ३० वटा पोका गाँजा फेला परेको हो।
ती पोकाबाट झण्डै एक सय ५६ किलो ५५ ग्राम गाँजा बरामद गरिएको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रमुख डीएसपी विकास बमले जानकारी दिए। हाल दुवैजनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
