आज गणतन्त्र दिवसको अवसरमा राजा फर्काउन आन्दोलन

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ जेष्ठ १६, बिहिबार (९ महिना अघि)
  • ३ पटक पढिएको
आज गणतन्त्र दिवसको अवसरमा राजा फर्काउन आन्दोलन

वीरगञ्ज,१५ जेठ। आज गणतन्त्र दिवसको अवसरमा सत्तारुढ नेकपा (एमाले) ले उत्सव मनाउँदैछ भने राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत पूर्वराजाका समर्थकहरूले वर्तमान व्यवस्थाविरुद्ध प्रदर्शन गर्ने भएका छन् । दुवै दलबिचको परस्पर विरोधी कार्यक्रमलाई लक्षित गरी काठमाडौँमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

सत्तारुढ नेकपा (एमाले)ले आज ‘गणतन्त्र दिवस’ भृकुटीमण्डप क्षेत्रमा सांस्कृतिक झाँकीसहित उत्सवका रुपमा मनाउने बताएको छ । एमालेले बिहान ११ बजेदेखि झाँकीसहितको उत्सव कार्यक्रम गर्ने जनाएको छ । अर्कोतिर, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत पूर्वराजाका समर्थकहरूले वर्तमान व्यवस्थाविरुद्ध रत्नपार्क क्षेत्रमा बिहान ९ बजेदेखि जनआन्दोलन गर्ने घोषणा गरेका छन् ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले आजका लागि सुरक्षा योजना बनाएर काम अघि बढेको बताए । उनले नेकपा (एमाले) को भृकुटीमण्डप, सुन्धारा, रत्नपार्क, टुँडिखेल क्षेत्रमा हुने सांस्कृतिक झाँकीबारे जानकारी प्राप्त भएको र सोहीअनुरूप सुरक्षा मिलाइएको बताए ।

तर, पूर्वराजा समर्थकको आन्दोलनबारे औपचारिक जानकारी नआएको उनको भनाइ छ । ‘हामी सुरक्षा योजना बनाएरै काम गरिरहेका छौँ,’ उनले भने, ‘नेपाल सरकारको औपचारिक कार्यक्रम पनि छ । एमालेको सांस्कृतिक झाँकीसहितको र्‍याली भृकुटीमण्डपको वरीपरी केन्द्रित छ । विरोधका कार्यक्रमबारे औपचारिक जानकारी आएको छैन ।’

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले काठमाडौँ उपत्यकासहित देशभर गणतन्त्र दिवस सम्बन्धित कार्यक्रममा सुरक्षा व्यवस्थापन गर्ने जिम्मेवारी प्रहरीको रहेको बताए । विभिन्न राजनीतिक दलद्वारा आयोजना गरिने काठमाडौँ केन्द्रित कार्यक्रममा कुनै अप्रिय घटना हुन नदिन तथा कानुन उल्लङ्घन हुन नदिने गरी सुरक्षा व्यवस्था मिलाइएको उनको भनाइ छ ।

‘विभिन्न राजनीतिक दलहरूले पनि आ-आफ्नो कार्यक्रमबारे जानकारी दिएका छन्,’ प्रवक्ता थापाले भने, ‘दुई पक्षबीच झडप नहुने गरी पर्याप्त सुरक्षा व्यवस्थापन मिलाइएको छ । प्रहरी प्रधान कार्यालयले सुरक्षाका लागि पर्याप्त जनशक्ति र अन्य साधनस्रोत उपलब्ध गराएको अवस्था छ ।’

कानुन उल्लङ्घन हुने गतिविधि भएमा तत्काल कानुनी कारबाही गरिने उनले चेतावनी दिए । ‘कानुन उल्लङ्घन हुन नदिन, अप्रिय घटना, आगजनीलगायत कुनै किसिमको अवाञ्छनीय गतिविधि हुन नदिन सुरक्षा व्यवस्था मिलाइएको छ । त्यस्ता क्रियाकलाप भएमा तत्काल कानुनी कारबाही गरिनेछ,’ उनले थपे ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक दीपक गिरीले प्रदर्शन क्षेत्रको गतिविधिका आधारमा ट्राफिक व्यवस्थापन गरिने बताए । ‘पूरै सडक बन्द हुने अवस्था आएमा सवारी साधन डाइभर्ट गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘एक-दुई लेन चल्ने अवस्था भए त्यहीँबाट सवारी आवागमन मिलाइनेछ । परिस्थिति, भीड र गतिविधिका आधारमा तत्काल योजना बनाउनुपर्ने हुन्छ ।’

काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रमुख, एसएसपी विश्वराज अधिकारीले पनि काठमाडौँ केन्द्रित कार्यक्रममा पर्याप्त सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिए । ‘हाम्रो पर्याप्त तयारी छ । सबै प्रकारका एकीकृत सुरक्षा योजना छन् । सोहीअनुसार बिहानको समारोहदेखि अन्य व्यवस्थापनका लागि पर्याप्त सुरक्षाकर्मी परिचालन गरिएको छ,’ उनले भने ।

प्रहरीले सम्भावित झडपलाई रोक्न र शान्ति सुरक्षा कायम गर्न उच्च सतर्कता अपनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस