बालेन र सुदनविरुद्ध बारामा किटानी जाहेरी दर्ता

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ आश्विन २८, मंगलबार (४ महिना अघि)
  • २ पटक पढिएको
बालेन र सुदनविरुद्ध बारामा किटानी जाहेरी दर्ता

काठमाडौं, २८ असोज। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र ‘हामी नेपाल’का संस्थापक सुदन गुरुङविरुद्ध बारामा किटानी जाहेरी दर्ता गरिएको छ।

एमाले निकट संगठन राष्ट्रिय युवा संघ नेपाल बाराले सोमबार दिउँसो जिल्ला प्रहरी कार्यालय बारामा जाहेरी दर्ता गर्दै दुवैजनामाथि जेन–जी आन्दोलनका क्रममा भएका आगलागी, तोडफोड, लुटपाट र सरकारी सम्पत्तिमाथि आक्रमणजस्ता घटनामा संलग्न भएको आरोप लगाएको हो।

संघले यी घटनाको सम्पूर्ण जिम्मेवारी शाह र गुरुङले लिनुपर्ने बताउँदै कानूनी कारबाहीको माग गरेको छ। जाहेरी दर्ता गर्नुअघि संघले बाराको पन्नाबागबाट शक्ति प्रदर्शनका रूपमा मोटरसाइकल र्‍याली निकालेको थियो।

‘राज्यविरुद्धको अराजकता र हिंसा अन्त्य गर’ भन्ने नारासहितको उक्त र्‍याली नगरका विभिन्न सडक हुँदै जिल्ला प्रहरी कार्यालयमा पुगेर टुंगिएको थियो। राष्ट्रिय युवा संघ बाराका अध्यक्ष सद्वाम अन्सारीको नेतृत्वमा पुगेको टोलीले जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक बिजयराज पण्डितलाई जाहेरी पत्र बुझाएको हो।

संघका मधेश प्रदेश सह–इन्चार्ज राम यादवले भने, “हामी शान्ति, स्थायित्व र कानूनी शासनका पक्षमा छौँ। तर बालेन शाह र सुदन गुरुङले नेतृत्व गरेको आन्दोलनले हिंसालाई प्रोत्साहन दियो र जनतालाई भ्रमित पार्‍यो, त्यसैले कानूनी रूपमा कारबाही माग गरेका हौँ।”

देशका विभिन्न जिल्लामा हालैको जेन–जी आन्दोलनका क्रममा तोडफोड, सडक अवरोध र सरकारी संरचनामाथि आक्रमण भएका थिए। प्रहरीका अनुसार ती घटनामा विभिन्न राजनीतिक समूह र स्वतन्त्र कार्यकर्ताहरूको संलग्नता रहेको आशंका छ। युवा संघले भविष्यमा पनि गैरजिम्मेवार राजनीतिक गतिविधिविरुद्ध कानूनी तथा राजनीतिक रूपमा विरोध जारी राख्ने चेतावनी दिएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस