
काठमाडौं, १४ फाल्गुन। संघीय राजधानी उपत्यका अन्तर्गत पर्ने काठमाडौं, ललितपुर र भक्तपुरमा नेपाली कांग्रेसका उम्मेदवारहरूले विकासको मार्गचित्र भिजन १० सहित साझा प्रतिबद्धता सार्वजनिक गर्ने भएका छन् । उपत्यकामा काठमाडौंका १०, ललितपुरका ३ र भक्तपुरका २ गरी १५ संघीय निर्वाचन क्षेत्र छन् ।
दिउँसो उम्मेदवारहरूको उपस्थितिमा प्रतिबद्धता सार्वजनिक गरिने महामन्त्री प्रदीप पौडेलले जानकारी दिए । काठमाडौं ५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत रहेका महामन्त्री पौडेलले उपत्यकाको दिगो विकासका लागि आगामी ५ वर्षमा गरिने साझा कामको खाका तयार पार्दै सार्वजनिकीकरणको अगुवाइ गरेका छन् ।
महामन्त्री पौडेलले संघीय राजधानीको यातायात, पूर्वाधारसहितका मुद्दामा उम्मेदवारहरूबीच परामर्शपश्चात खाका तयार पारिएको र आज सार्वजनिक गर्ने जानकारी दिए ।
उनले भने, ‘समग्र उपत्यकाको विकासको मार्गचित्र हाम्रो प्राथमिकतामा छ । एक्लाएक्लै भन्दा साझा रूपमा मुद्दा उठाउन सहज हुने भएकाले साझा प्रतिबद्धता सार्वजनिक गर्न लागेका हौँ ।’
