अरु दल छाडेको ९० दिनपछि मात्र रास्वपाको ‘उम्मेदवार क्लब’मा दर्ता खुला

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख २१, सोमबार (१ घण्टा अघि)
  • ७८ पटक पढिएको
अरु दल छाडेको ९० दिनपछि मात्र रास्वपाको ‘उम्मेदवार क्लब’मा दर्ता खुला

काठमाडौं, २१ वैशाख। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा अन्य दलबाट प्रवेश गरी ९० दिन पुगेका व्यक्ति मात्रै उम्मेदवार क्लबका लागि योग्य हुने गरी विधि बनाइएको छ ।

केन्द्रीय सचिवलायबाट आइतबार पारित ‘स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रुपरेखामा’ अरु दल परित्याग गर्नेहरुको हकमा तीन महिना अवधि पुगेपछि मात्रै उम्मेदवार क्लबमा दर्ता हुनसक्ने उल्लेख छ । अन्य दलबाट परित्याग गरेपछि कुलिङ पिरियड तीन महिना तोकिएको छ । कुनै व्यक्तिले पहिलोपटक दलको सदस्य लिएका व्यक्तिको हकमा भने ४५ दिनको अवधि तोकिएको छ ।

रास्वपाबाट स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुन इच्छुक व्यक्तिले उम्मेदवार क्लबमा दर्ता भई छनोट प्रक्रियामा भाग लिन सदस्यता लिएको ४५ दिन पुग्नुपर्नेछ । विगतमा कुनै दलमा आवद्दता नभएकाहरुका लागि सदस्यता लिएको ४५ दिनपछि उम्मेदवार छनोट प्रक्रियामा सहभागी हुने पाउने छन् ।

नयाँ सदस्यता लिने र अन्य दल परित्याग गरेर उम्मेदवार हुन चाहनेका लागि कुलिङ पिरियडको व्यवस्था गरिएपनि ल्याट्ररल इन्ट्री हुनेको हकमा भने कुलिङ पिरियड राखिएको छैन । समाजका प्रतिष्ठित, विज्ञ, सार्वजनिक रूपमा स्वच्छ छवि भएका वा पार्टीलाई आवश्यक पर्ने विशेष क्षमता भएका व्यक्तिहरूलाई कुलिङ पिरियडको अवधि पूरा नभएपनि ल्याटरल इन्ट्री मार्फत क्यान्डिडेट क्लबमा आवेदन दिनसक्ने व्यवस्था गरिएको छ ।

विशेष व्यवस्था अनुसार उम्मेदवार क्लबमा दर्ता भएकाहरुले पनि कुलिङ पिरियड बाहेकका मापदण्ड पुरा गर्नुपर्नेछ । विशेष व्यवस्था अन्तर्गत आवेदन दिने जो–कोही व्यक्तिका लागि पनि पार्टीको लिडरसिप एकेडेमीको प्रशिक्षण तथा उम्मेदवार छनोट प्रक्रियामा सहभागिता अनिवार्य गरिएको छ ।

वडा अध्यक्ष र वडा सदस्य पदका लागि वडा क्यान्डिडेट क्लबमा आवेदन दिन सम्बन्धित पालिका समिति र जिल्ला समितिको औपचारिक लिखित सहमति अनिवार्य गरिएको छ । गाउँ/नगरपालिकाको हकमा अध्यक्ष/उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख/उपप्रमुखका उम्मेदवारका आकांक्षीले सम्बन्धित जिल्ला समिति र प्रदेश समितिको औपचारिक लिखित सहमति अनिवार्य गरिएको छ । उपमहानगरपालिका र महानगरपालिकाका प्रमुख/उपप्रमुखले क्यान्डिडेट क्लबमा आवेदन दिन केन्द्रीय समितिको औपचारिक लिखित सहमति लिनुपर्नेछ ।

रास्वपाबाट स्थानीय तहको उम्मेदवार हुन तीन तहको प्रक्रिया पुरा गर्नुपर्ने हुन्छ । आकांक्षीहरुलाई योग्यता, क्षमता र पारदर्शी मूल्यांकनका लागि ‘उम्मेदवार क्लब’, लिडरसीप एकेडेमी प्रशिक्षण र छनोट रुपरेखामा आधारित परीक्षण प्रक्रिया बनाइएको छ । पालिकाभित्र ‘पालिका क्यान्डिडेट क्लब र वडा क्यान्डिडेट क्ल गरी दुई प्रकारका उम्मेदवार क्लबको व्यवस्था गरिएको छ ।

उम्मेदवार छनोटका लागि चार प्रकारका मापदण्ड रास्वपाले तयार गरेको छ । उम्मेदवार छनोट गर्दा व्यक्तिको लिडरसीप एकेडेमी, पोलिटिकल प्रोक्सिमिटी, समावेशिता र प्रारम्भिक निर्वाचनबाट प्राप्त अंकको आधार चयन गरिने भएको छ । लिडरसीप एकडेमीका लागि २५ प्रतिशत भाराङ्क तय गरिएको छ । यो मापदण्डमा व्यक्तिको वैचारिक र व्यवहारिक क्षमताको मूल्यांकन गरिने भएको छ । राजनीतिक संस्कार, नीतिगत स्पष्टता, जनसेवा लगायत मूल्यांकन गरिने भएको छ ।

उम्मेदवारका आकांक्षी सबैले पार्टीले तय गरेको पाठ्यक्रम अनुसार प्रशिक्षण लिनुपर्नेछ । आधारभूत र विशिष्ट खण्ड गरी पाठ्यक्रम निर्धारण गरिएको रास्वपाले जानकारी गराएको छ ।

उम्मेदवार छनोट गर्दा व्यक्तिको विगतको पृष्ठभूमि, जनसम्बन्ध, चारित्रिक अवस्था, लोकप्रियता, पार्टीमा आवद्धता, संगठनमा क्रियाशिलता, अनुशासन लगायतका मापदण्ड बनाइएको छ । यी विषय हेरेर व्यक्तिको मूल्यांकन गर्ने आधारलाई ‘पोलिटिकल प्रोक्सिमिटी’ भनिएको छ । यस मापदण्डलाई २५ प्रतिशत भाराङ्क तय गरिएको छ ।

जातिय क्लष्टर अनुसार समावेशिताको मापदण्डका लागि १० प्रतिशत भाराङ्क राखिएको छ । जनसांख्यिक अनुपात, उमेर समूह, लैगिंक समानता, अपाङ्गता, भौगोलिक विकटता लगायबाट समावेशिता अनुसार उम्मेदवार चयन गर्दा त्यस्तो क्लष्टरको व्यक्ति आकांक्षी हुँदा १० प्रतिशत अंक स्वतः प्राप्त गर्ने विधि बनाइएको छ ।

प्रारम्भिक मतदानका लागि ४० प्रतिशत भाराङ्क किटान गरिएको छ । प्रारम्भिक निर्वाचनमा सम्बन्धित पालिकाका सदस्यहरुले आकांक्षी उम्मेदवारको टुंगो लगाउन मतदान गर्न पाउनेछन् । प्रारम्भिक मतदानमा सम्बन्धित पालिका पार्टी संरचनाका सदस्य, पार्टी संरचनाका सदस्य, सम्बन्धित पालिकाबाट केन्द्रीय समितिमा रहेका व्यक्तिहरुले मत दिन पाउने छन् ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस