
काठमाडौँ, ०३ चैत। इराकको अर्विलमा रहेको संयुक्त अरब इमिरेट्स (यूएई) को महावाणिज्य दूतावासलाई लक्षित गरी भएको ड्रोन हमलामा दुई नेपाली सुरक्षागार्ड घाइते भएका छन् । विमानस्थलमा पनि निरन्तर ड्रोन हमला भएपछि नजिकै रहेको अमेरिकी सेनाको क्याम्पमा कार्यरत १२० नेपालीलाई होटलमा सारिएको छ ।
सुरक्षा सावधानीका लागि केही नेपालीले इराक छाडिसकेका छन् । यूएईको महावाणिज्य दूतावासमा हमला हुँदा घाइते दुई नेपालीमध्ये एक जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । उनको हात र अनुहारमा आगोले पोलेको छ ।
अर्का नेपालीको हातमा सामान्य चोट लागेको छ । महावाणिज्य दूतावासमा १३ जना नेपाली सुरक्षागार्ड र दुई जना नेपाली महिला कर्मचारी गरी १५ जना कार्यरत छन् ।
परराष्ट्र मन्त्रालयका अनुसार इराकमा झन्डै ३० हजार नेपाली कार्यरत छन् ।
यसअघि इराकको स्वशासित राज्य कुर्दिस्थानको राजधानी अर्विलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन आक्रमण भएपछि त्यहाँ कार्यरत १ सय २० जना नेपालीलाई पनि सुरक्षित स्थानमा राखिएको छ ।
