उच्च अदालतको निर्देश, क्याम्पस र स्कुल अलग भवनमा सञ्चालन हुने

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र ५, बिहिबार (१ महिना अघि)
  • १६६ पटक पढिएको
उच्च अदालतको निर्देश, क्याम्पस र स्कुल अलग भवनमा सञ्चालन हुने

वीरगञ्ज, ०५ चैत। उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जले हरि खेतान माध्यमिक विद्यालय र हरि खेतान बहुमुखी क्याम्पसलाई एउटै भवनमा सञ्चालन गर्न नपाइने स्पष्ट आदेश जारी गरेको छ ।

अदालतले फागुन १५ गते सार्वजनिक गरेको पूर्णपाठले हरि खेतान माध्यमिक विद्यालय र हरि खेतान बहुमुखी क्याम्पसलाई छुट्टाछुट्टै भवनमा सञ्चालन गर्न आदेश दिएको हो ।

संयुक्त इजलासबाट आएको निर्णयले वीरगञ्जस्थित हरि खेतान बहुमुखी क्याम्पस र हरि खेतान माध्यमिक विद्यालय दुवै शैक्षिक संस्थाबिच लामो समयदेखि चल्दै आएको व्यवस्थापन तथा कानुनी विवादलाई औपचारिक रूपमा सम्बोधन गरेको छ ।

अदालतले अबदेखि विद्यालय र क्याम्पसलाई फरक–फरक भवनमा तथा फरक–फरक कानुनी संरचनाअन्तर्गत सञ्चालन गर्नुपर्ने स्पष्ट निर्देशन दिएको छ ।

नेपालको शिक्षा ऐन, २०२८ ले माध्यमिक विद्यालय र विश्वविद्यालय सम्बन्धनका क्याम्पसहरूलाई अलग–अलग कानुनी संरचनामा सञ्चालन गर्नुपर्ने स्पष्ट व्यवस्था गरेको छ । यसैगरी, त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले जारी गरेको “सम्बन्धन सम्बन्धी विनियम, २०७३” मा पनि एउटै भवनमा विद्यालय र क्याम्पस सञ्चालन गर्न नमिल्ने प्रावधान उल्लेख छ ।

कानुनअनुसार क्याम्पस प्रमुख र विद्यालयका प्रधानाध्यापक अलग–अलग व्यक्ति हुनुपर्छ । तर, यहाँ क्याम्पस प्रमुखले विद्यालयको प्रशासनिक कार्यमा हस्तक्षेप गरेको आरोप लाग्दै आएको थियो । सञ्चालक समितिले पटक–पटक शिक्षा ऐनबमोजिम सञ्चालन गर्न आग्रह गरे पनि बेवास्ता भएको स्थानीय स्रोतहरूले जनाएका छन् । क्याम्पस प्रमुखमाथि संस्थालाई गलत शैलीमा सञ्चालन गरेको आरोप पनि लागेको छ ।

अदालती आदेशले शिक्षा क्षेत्रमा पारदर्शिता, उत्तरदायित्व र कानुनी अनुशासन कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । अब सम्बन्धित निकायहरूले कानुनअनुसार संस्थागत संरचना सुधार गर्नुपर्ने दबाब बढेको छ । यसले विगतका विवादहरूलाई टुङ्गो लगाउने दिशामा सकारात्मक सङ्केत दिएको छ ।

सम्बन्धित पक्षहरूले अदालतको आदेशलाई पूर्ण रूपमा कार्यान्वयन गरी शैक्षिक गुणस्तर र कानुनी मापदण्ड कायम राख्नुपर्ने देखिन्छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस