एउटै भवनमा नगरपालिका र नयाँ शहर आयोजना कार्यालय

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख ९, बुधबार (३ घण्टा अघि)
  • ४४ पटक पढिएको
एउटै भवनमा नगरपालिका र नयाँ शहर आयोजना कार्यालय

 काठमाडौं, ०९ वैशाख। तेह्रथुमको लालीगुराँस नगरपालिका र नयाँ शहर आयोजना कार्यालयका लागि ८ करोड ३४ लाख लगानीमा नयाँ एकीकृत भवन निर्माण गरिएको छ । जिल्लाको बसन्तपुरमा नयाँ र सुविधासम्पन्न भवन निर्माण गरिएको हो ।

भवन निर्माणका लागि शहरी विकास मन्त्रालयअन्तर्गत नयाँ शहर आयोजना कार्यालय मार्फत ८ करोड २८ लाख ७९ हजार रुपैयाँमा सम्झौता गरिएको थियो । भिओसहित ८ करोड ३४ लागतमा पाँच तले उक्त भवन निर्माण सम्पन्न भएको नयाँ शहर कार्यालय प्रमुख सुदिप झाले बताए ।

कुन्सालिङ कन्स्ट्रक्सन प्रा.लि., भोजपुरले २०८० चैत १५ गते सम्झौता गरी २०८२ चैत १४ गते निर्माण सम्पन्न गरेको भवनमा ४७ कोठा रहेका छन् । तीमध्ये ३० कोठा लालीगुराँस नगरपालिकाले र १७ कोठा नयाँ शहर आयोजनाले उपयोग गर्ने व्यवस्था गरिएको छ ।

नवनिर्मित भवनमा आधुनिक संरचना, व्यवस्थित कार्यकक्ष तथा तापक्रम सन्तुलन कायम गर्ने स्टोन–कोटेड रुफिङ छाना जस्ता सुविधा समावेश गरिएका छन्, जसले कर्मचारीलाई अनुकूल कार्य वातावरण र सेवाग्राहीलाई सहज पहुँच प्रदान गर्ने अपेक्षा गरिएको छ ।

नगरपालिका र नयाँ शहर आयोजनाले प्रशासनिक सेवा यही नयाँ भवनबाट काम सुरु गरिसकेका छन् ।

सेवा प्रवाह प्रभावकारी हुने विश्वास

यसअघि नगरपालिका जिर्ण र साँघुरो संरचनाबाट सञ्चालन हुँदै आएको थियो भने २०७२ सालमा स्थापना भएको नयाँ शहर आयोजना कार्यालय बसन्तपुर पनि भाडाको घरमा सीमित थियो । भौतिक पूर्वाधार अभावका कारण विभिन्न समस्या झेल्दै आएका यी कार्यालयका सेवा अब नयाँ भवनबाट प्रभावकारी र सहज हुने विश्वास छ ।

नवनिर्मित भवन उदघाटन गर्दै पूर्व शहरी विकासमन्त्री सीता गुरुङले स्थानीय तहमा गुणस्तरीय सेवा सुनिश्चित गर्न सुदृढ पूर्वाधार अनिवार्य रहेको बताइन् । उनका अनुसार नयाँ भवनले कर्मचारी र सेवाग्राही दुवैका लागि अनुकूल वातावरण सिर्जना गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनेछ ।

नगर प्रमुख अर्जुनबाबु माबुहाङका अनुसार आफ्नै भवन अभावमा विगत लामो समय जिर्ण तथा साँघुरो भवनबाट सेवा दिँदै आएको र करिब डेढ वर्षदेखि सामुदायिक भवनबाट सेवा सञ्चालन गर्नुपरेको थियो । ‘सीमित स्थान, पूर्वाधारको कमी र सेवाग्राहीको चापका कारण दैनिक कामकाज प्रभावित हुँदै आएको थियो, अब भने नयाँ भवन सञ्चालनसँगै सेवा प्रणाली व्यवस्थित र प्रभावकारी बन्ने विश्वास गरिएको छ,’ उनले भने ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रबिन कार्कीका अनुसार पर्याप्त कार्यक्षेत्र, शाखागत व्यवस्थापन र प्रविधिमैत्री वातावरणले सेवा प्रवाहलाई छिटो, पारदर्शी र प्रभावकारी बनाउनेछ । उपप्रमुख जमुना मगर कार्कीले पनि नयाँ भवनले विगतका असहजता अन्त्य गर्दै सेवाग्राहीलाई सहज सेवा उपलब्ध गराउने बताइन् ।

भवन उदघाटन कार्यक्रममा प्रदेशसभा सदस्य किशोरचन्द्र दुलाल, दुर्गाप्रसाद चापागाईं, म्याङलुङ नगरपालिकाका प्रमुख सञ्जय कुमार तुम्बाहाङ्फे, आठराई गाउँपालिकाका अध्यक्ष दिल कुमार पाहिम तथा प्रमुख जिल्ला अधिकारी बन्दना राई लगायतको उपस्थिति थियो ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस