काँग्रेसले बाराका सभापति यादवसहित १६ जनामाथि कारबाही सिफारिस

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र २, सोमबार (१ महिना अघि)
  • २०४ पटक पढिएको
काँग्रेसले बाराका सभापति यादवसहित १६ जनामाथि कारबाही सिफारिस

काठमाडौँ, ०२ चैत। नेपाली काँग्रेसको बारा जिल्लामा आन्तरिक विवाद चर्किएको छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ का उम्मेदवार तथा पार्टीका सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई निर्वाचनमा असहयोग गरेको आरोपमा जिल्ला सभापति राजेश राय यादवसहित १६ जना नेताकार्यकर्ताको नाम कारबाहीका लागि केन्द्रमा सिफारिस गरिएको छ ।

क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ३ ले कारबाही सिफारिस गरेको हो । क्षेत्रीय सचिव राजेश भण्डारीका अनुसार, जिल्ला सभापति यादवले आफ्ना नातेदार तथा नजिकका नेता-कार्यकर्तालाई परिचालन गरी उम्मेदवार मन्सुरलाई पराजित गराउने प्रयास गरेको आरोप छ ।

क्षेत्रीय सभापति प्रभातकुमार चौरसियाद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, “बारा निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली काँग्रेसका उम्मेदवार फरमुल्लाह मन्सुरलाई निर्वाचनमा पराजित गराउनका लागि आफ्ना नातेदार र नजिकका नेता कार्यकर्तालाई परिचालन गरी जिल्ला कार्यसमिति बाराका सभापति राजेश राय यादवले हराउने कार्य गरेको, गराउन लगाएको व्यवहार अवगत गराउन चाहन्छु ।”

पत्रमा सिफारिस गरिएका सबैलाई तत्काल पार्टी सदस्यताबाट निलम्बन गर्नुपर्ने माग गरिएको छ ।

कारबाही सिफारिसमा परेका व्यक्तिहरूको नामावली यस प्रकार छ:

  • राजेश राय यादव – जिल्ला सभापति, नेपाली काँग्रेस बारा
  • हरिप्रवेश यादव – सभापति, प्रदेश कार्यसमिति क्षेत्र नं. २ (ख)
  • श्रीनिवास यादव – उपसभापति, प्रदेश कार्यसमिति क्षेत्र नं. ३ (ख)
  • केदार साह – उपसचिव, प्रदेश कार्यसमिति क्षेत्र नं. २ (ख)
  • अम्बिका यादव – उपसभापति, उपमहानगर कार्यसमिति कलैया उ.म.न.पा.
  • बजरंगी साह – महाधिवेशन प्रतिनिधि क्षेत्र नं. २
  • भोला राय यादव – सभापति, कलैया उ.म.न.पा. वडा नं. ६
  • रामप्रवेश यादव – सभापति, प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं. २, बारा
  • रबिन्द्र यादव (उर्फ रोवान) – जिल्ला सदस्य, नेपाली काँग्रेस बारा
  • रविकरण साह कलवार – जिल्ला सदस्य, नेपाली काँग्रेस बारा
  • नाजिर अन्सारी – सहसचिव, क्षेत्रीय कार्यसमिति क्षेत्र नं. ३ बारा
  • दिपेन्द्र पटेक – कार्यवाहक अध्यक्ष, नेपाल तरूण दल बारा
  • मो. अतिउर रहमान (पप्पु) – सदस्य, मधेश प्रदेश कार्यसमिति
  • अवधेश यादव – प्रदेश महाधिवेशन प्रतिनिधि क्षेत्र नं. ३ (२) ख
  • हरि यादव (हरिन्द्रप्रसाद राउत) – क्षेत्रीय प्रतिनिधि वडा नं. ५ (कलैया उ.म.न.पा.)

घटनाले नेपाली काँग्रेसको बारा जिल्ला तथा क्षेत्र नम्बर ३ मा रहेको आन्तरिक खटपटलाई उजागर गरेको छ । केन्द्रीय समितिले अब यस सिफारिसमाथि कस्तो निर्णय गर्छ भन्नेमा सबैको ध्यान केन्द्रित छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस