टेलिकम सर्भर ह्याकमा कर्मचारीकै संलग्नता, ई–बिडिङ पनि प्रभावित

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख १८, शुक्रबार (२ घण्टा अघि)
  • ६६ पटक पढिएको
टेलिकम सर्भर ह्याकमा कर्मचारीकै संलग्नता, ई–बिडिङ पनि प्रभावित

काठमाडौं, १८ वैशाख। ३१ असार २०७७ मा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेर मुद्दा चलाएका सरकारी कर्मचारी नै अहिलेको ई–बिडिङ ह्याक प्रकरणमा जोडिएका छन् ।

अनलाइन बोलपत्र प्रणालीमा अनधिकृत पहुँच (ह्याक गरी) पुर्‍याई ठेक्काका विवरण हेरफेर गर्ने काममा पाँच वर्षअघि नै पक्राउ परेका कर्मचारी जोडिएका हुन् ।

पाँच वर्षअघि सीआईबीले नेपाल टेलिकमको सर्भर ह्याक गरेको आरोपमा धनकुटा पाख्रिबास नगरपालिका–५ घर भएका २८ वर्षीय दिवाकर देउजालाई पक्राउ गरेको थियो ।

त्यतिबेला नेपाल टेलिकमको मोबाइल एपको सर्भर सिस्टम ह्याक गरी प्याकेज प्रयोग तथा बिक्री गरेर टेलिकमको राजस्व तथा व्यावसायिक छविमा गम्भीर क्षति पुर्‍याएको भन्दै देउजालाई सीआईबीले पक्राउ गरेको थियो ।

यस विषयमा टेलिकमले अनुसन्धान गरिपाउँ भन्दै सीआईबीलाई पत्राचार गरेपछि देउजा पक्राउ गरेका थिए । धनकुटाबाट पक्राउ परेका उनको साथबाट २ थान ल्यापटप र २ थान मोबाइलसमेत बरामद भएको थियो ।

उनले अनट्रेसएवल इन्टरनेट प्रविधि प्रयोग गरी अनधिकृत रूपमा नेपाल टेलिकमको सर्भर प्रणालीमा पटक–पटक पहुँच बनाएको देखिएको थियो ।

त्यतिबेला देउजा शहरी विकास तथा भवन कार्यालय, धनकुटामा कम्प्युटर अपरेटर पदमा कार्यरत थिए । उनीमाथि सीआईबीले विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा चलाएको थियो ।

१४ साउन २०७७ मा काठमाडौं जिल्ला अदालतका तत्कालीन न्यायाधीश कमलप्रसाद पोखरेलको आदेशपछि उनी ५० हजार धरौटीमा रिहा भएका थिए । अहिले उनै देउजा फेरि अनलाइन बोलपत्र प्रणालीमा पहुँच पर्‍याई ठेक्काका विवरण हेरफेरमा जोडिएपछि पक्राउ परेका छन् ।

३३ वर्षका देउजालाई भोटहिटीबाट पक्राउ गरिएको सीआईबीले बताएको छ । सीआईबीले उनलाई २८ फागुनमा पक्राउ गरेका हो । सुरुमा देउजालाई पक्राउ गरेर अनुसन्धान गरेको प्रहरीले अलिहेसम्म यो प्रकरणमा १३ जनालाई पक्राउ गरेको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयको ई–गमर्भेन्ट प्रोक्युरमेन्ट प्रणालीमा अनधिकृत पहुँच पुर्‍याई विभिन्न ठेक्काको विवरण हेरफेर हुने गरेको भन्दै प्रहरीको केन्द्रीय साइबर ब्युरो भोटाहिटीमा उजुरी परेको थियो ।

ठेक्काहरूको आर्थिक प्रस्ताव खोल्नु अगावै डकुमेन्ट परिवर्तन हुने गरेको बताइएको थियो । प्रारम्भिक अनुसन्धानका क्रममा यो ठूलो संगठित अपराध रहेको खुलेपछि यसको अनुसन्धान साइबर ब्युरोभन्दा माथिल्लो निकाय सीआईबीले सुरु गरेको थियो । अहिलेसम्म सीआईबीले १० निर्माण व्यवसायीसँगै १३ जनालाई पक्राउ गरिसकेको छ ।

बझाङको दुर्गाथली गाउँपालिका–३ घर भएका २५ वर्षीय भरत धामीलाई भक्तपुरकोे सूर्यविनायक नगरपालिका–३ बाट ११ चैतमा, तनहुँको बन्दीपुर गाउँपालिका–१ का ३९ वर्षीय सञ्जय भट्टलाई गुल्मीबाट ११ चैतमा, काठमाडौंका ३५ वर्षीय भाष्करराज अर्याललाई काठमाडौं बोहराटारबाट १७ चैतमा, हेटौंडाका ४० वर्षीय सागर कटुवाललाई १७ चैतमा कमलादी काठमाडौंबाट र सुनसरीको दुहवी नगरपालिका–५ का ६२ वर्षीय जीवनकुमार दासलाई सोही ठाउँबाट २३ चैतमा सीआईबीले पक्राउ गरी सार्वजनिक गरेको थियो ।

११ वैशाखमा पूर्वमन्त्री तथा राप्रपाका वरिष्ठ नेता एवं उपाध्यक्ष विक्रम पाण्डे पक्राउ परेका थिए । उनी कालिका कन्स्ट्रक्सन प्रालिका सञ्चालक हुन् । भिषण कन्स्ट्रक्सन प्रालिका सञ्चालक टंककुमार श्रेष्ठ पनि सामाखुसीबाट ११ वैशाखमा पक्राउ परेका थिए ।

१२ वैशाखमा पेप्सीकोलाबाट इन्कोन प्रालिका सेयर धनी तथा लेखापाल ३० वर्षीय स्वदेश पोखरेल पक्राउ परे । यसको भोलिपल्ट १३ वैशाखमा कल्पवृक्ष बिल्डर्स प्रालिका सञ्चालक ४१ वर्षीय प्रकाश ढुंगाना पक्राउ परे ।

पछिल्लो पटक सीआईबीले आशिष निर्माण सेवाका सञ्चालक ७० वर्षीय ऋषिकेश गौलीलाई पक्राउ गरेको छ ।

कर्मचारी देउजाले बोलपत्रको अन्तिम समय सकिएपछि अनधिकृत रूपमा पहुँच पुर्‍याएर सबैको विवरण हेर्ने र आफ्नो बोलपत्र प्रस्ताव स्वीकृत गर्न संशोधन गरी सबैभन्दा कम मूल्य राख्ने र टेन्डर हात पार्ने गरेको अनुसन्धानबाट देखिएको एक अधिकारीले बताए ।

यसका लागि ठेकेदार कम्पनीहरूसँग सम्पर्क गर्ने र बार्गेनिङ गरेर रकममा कुरा मिलेपछि अनलाइन बोलपत्रमा पहुँच पुर्‍याएर विवरण संशोधन गर्दै ठेक्का हत्याउने गरेको सीआईबीको भनाइ छ । कर्मचारी देउजाले यसका लागि अन्य ह्याकरको समेत सहयोग लिएको बताइएको छ । तर यसबारे सीआईबीले केही पनि बताएको छैन ।

विगत केही वर्षदेखि ठूला ठेक्काको टेन्डरमा यसैगरी पहुँच पुर्‍याउँदै विवरण संशोधन गर्दै ठेक्का हात पार्ने गरेको देखिएको सीआईबीले बताएको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस