
वीरगञ्ज, २७ चैत। पर्सा जिल्लाको जिराभवानी गाउँपालिका–१ सेढवा बलुवाटोलमा गएराति भएको भीषण आगलागीले एक परिवारको सम्पूर्ण धनमाल जलेर नष्ट भएको छ। स्थानीय मोटर मुखिया बिनको घरमा राति करिब ११:३० बजे आगो लागेको थियो।
प्रहरीका अनुसार लामखुट्टे धपाउन बालिएको ‘घुर’ बाट अचानक आगो सल्किएर घरभरि फैलिएको हो। आगलागीमा घरभित्रका अन्नपात, भाँडाकुँडा, लत्ताकपडा, १२ थान सुनचाँदीका गहना पूर्ण रूपमा जलेर खरानी भएका छन्।
यसबाहेक गोठमा राखिएका चारवटा बाख्रा र एक गाई समेत जलेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
पीडित मोटर मुखिया बिनका अनुसार घर बनाउनका लागि छिमेकी लघुवित्तबाट ऋण स्वरूप ल्याइएको ६ लाख रुपैयाँ नगद समेत जलेर नष्ट भएको छ।
“घर बनाउने सपना बुनेर ऋण ल्याएको थिएँ, आगोले सर्वस्व लुट्यो,” पीडित बिनले आँसु भरिँदो आँखाले बताएका छन्।
घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय पटेर्वासुगौली, प्रहरी चौकी महादेवपट्टी र सशस्त्र प्रहरी बल बीओपी महादेवपट्टीको टोली स्थानीयबासीसँगै आगो नियन्त्रणमा खटिएका थिए।
प्रहरी निरीक्षक समुन्नत अधिकारीका अनुसार आगो स्थानीय तथा सुरक्षाकर्मीहरूको ठूलो प्रयासपछि नियन्त्रणमा लिइएको हो। घटना सम्बन्धी क्षतिको विस्तृत विवरण संकलन भैरहेको प्रहरीले जनाएको छ।
