पर्साको पोखरियामा संस्थागत ठगीको आशंका, अनुसन्धानको माग

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र ९, सोमबार (१ महिना अघि)
  • १९८ पटक पढिएको
पर्साको पोखरियामा संस्थागत ठगीको आशंका, अनुसन्धानको माग

वीरगञ्ज, ०९ चैत। पर्साको पोखरिया नगरपालिकामा नगर प्रशासन र विभिन्न तहबाट संस्थागत रूपमा ठगी धन्दा फस्टाउँदै गएको आरोप लागेपछि स्थानीय स्तरमा तीव्र आक्रोश देखिएको छ।

राष्ट्रिय मुक्ति पार्टी नेपाल ले बेरोजगार युवा तथा सर्वसाधारणमाथि विभिन्न बहानामा आर्थिक शोषण भइरहेको भन्दै गम्भीर ध्यानाकर्षण गराएको हो।

पार्टीका सह–महासचिव नेजामुद्दीन शमानीले जारी गरेको प्रेस विज्ञप्तिमा जागिर लगाइदिने प्रलोभन देखाएर सर्वसाधारणबाट मोटो रकम असुल्ने गरिएको आरोप लगाइएको छ। “लामो समयसम्म काम गराएर पछि हटाउने र तलब नदिई युवाहरूको श्रममाथि खेलबाड गरिएको छ,” विज्ञप्तिमा उल्लेख छ।

नगरपालिकामा कर वृद्धि गरेर नागरिकमाथि आर्थिक भार थपिएको पनि आरोप लगाइएको छ। पहिले ३०० रुपैयाँ लाग्ने सम्पत्ति करलाई बढाएर १५०० रुपैयाँ पुर्‍याइएकोप्रति विरोध जनाइएको छ। आन्दोलनपछि १० प्रतिशत मात्रै कर घटाइनुले समस्या समाधान नहुने स्थानीयको भनाइ छ।

त्यसैगरी नगर विस्तार तथा विकास योजनाका नाममा रकम असुली, डिपिआर तयार गर्ने क्रममा अनियमितता र बजेट दुरुपयोग भएको आरोप समेत लगाइएको छ। सार्वजनिक बजेटलाई प्रभावकारी रूपमा प्रयोग नगरी व्यक्तिगत लाभ र कार्यकर्ता पोस्ने कार्यमा खर्च गरिएको दाबी गरिएको छ।

यद्यपि नगरपालिकामा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) लगायतका प्रमुख दलहरूको प्रतिनिधित्व रहे पनि यस्ता गतिविधि रोक्न नसकिएको भन्दै चिन्ता व्यक्त गरिएको छ।

राष्ट्रिय मुक्ति पार्टीले घटनाको निष्पक्ष छानबिन, दोषीलाई कानुनी कारबाही, पीडितलाई क्षतिपूर्ति तथा कर प्रणाली सुधारलगायत पाँचबुँदे माग अघि सारेको छ।

“अब चुप लागेर बस्ने समय छैन, भ्रष्टाचार र ठगीविरुद्ध एकजुट भएर आवाज उठाउन आवश्यक छ,” सह–महासचिव शमानीले चेतावनी दिँदै आगामी दिनमा सशक्त आन्दोलन गर्ने संकेत दिएका छन्।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस