
काठमाडौं, १८ चैत। राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र शाह (बालेन) को नेतृत्वमा सरकार गठन भएको मात्र पाँच दिनमै पाँच जना उच्चस्तरीय व्यक्तिहरू (भिआइपी) पक्राउ परेका छन् । सरकार गठन भएको पहिलो दिनदेखि मङ्गलवारसम्म उनीहरूलाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेकामध्ये एक जनालाई हाजिर जमानीमा छाडिएको छ ।
पक्राउ पर्नेमा पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, पूर्व गृहमन्त्री रमेश लेखक, पूर्व ऊर्जा मन्त्री दीपक खड्का, लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा र काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजाल रहेका छन् । उनीहरूमध्ये रिजाललाई मङ्गलवार हाजिर जमानीमा रिहा गरिएको छ ।
सरकारले ओली र लेखकलाई शनिवार बिहान झिसमिसेमै पक्राउ गरेको थियो । गत भदौ २३ र २४ गते भएको जेन-जी प्रदर्शनमा भएको हिंसा तथा लापरबाहीबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोग (कार्की आयोग) को प्रतिवेदन कार्यान्वयन गर्ने भन्दै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । सोही प्रकरणमा तत्कालीन सिडिओ छवि रिजाल पनि पक्राउ परेका थिए ।
पूर्व ऊर्जा मन्त्री दीपक खड्कालाई भने सम्पत्ति शुद्धीकरणको आरोपमा पक्राउ गरिएको छ । उनलाई अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौँबाट हिरासत अनुमति प्राप्त भएको छ ।
लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई आइतबार साँझ काठमाडौँको धुम्बाराहीस्थित निवासबाट पक्राउ गरिएको थियो । पहिले नै मुद्दा नचल्ने निर्णय भइसकेको मुद्दामा पनि उनलाई पक्राउ गरिएको सरकारको कदमलाई लिएर विवाद उत्पन्न भएको छ ।
ओली र लेखकलाई अनुसन्धानका लागि पाँच दिनको हिरासत अनुमति दिइएको छ । यसबीच सर्वोच्च अदालतले उनीहरूलाई पक्राउ गर्नुको कारण माग गर्दै लिखित जवाफ पेस गर्न आदेश दिएको छ । ओलीकी पत्नी राधिका शाक्य र लेखककी पत्नी यशोदा लेखकले आइतबार नै बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । रिटमा जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा सिधै पक्राउ गर्नु गैरकानुनी भएको दाबी गरिएको छ ।
न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले सरकार र सुरक्षा निकायलाई कारण पेस गर्न आदेश दिएपछि पक्राउ प्रक्रियामाथि कानुनी बहस सुरु भएको छ । जिल्ला अदालत काठमाडौँले भने दुवैलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।
ओलीको पक्राउपछि नेकपा एमाले आन्दोलनमा उत्रिएको छ । पार्टीले देशभर आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।
भिआइपी प्रकरणले नेपालको राजनीतिक तथा कानुनी क्षेत्रमा ठुलो चासो र बहस उत्पन्न गरेको छ । सरकारले आयोगको प्रतिवेदन कार्यान्वयन गर्दै भ्रष्टाचार र आन्दोलनमा भएको लापरबाहीमा शून्य सहनशीलता देखाएको दाबी गरेको छ भने विपक्षीहरूले यसलाई प्रतिशोधपूर्ण कदम भनेका छन् ।
सर्वोच्च अदालतमा लिखित जवाफ पेस भएपछि मात्र ओली र लेखकको पक्राउ कानुनी हो वा होइन भन्ने टुङ्गो लाग्ने देखिन्छ ।
