मधेश प्रदेशमा सरकार फेरबदलको सरगर्मी तीव्र, ६२ सांसदको समर्थन जुट्यो

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख २१, सोमबार (३ घण्टा अघि)
  • ६६ पटक पढिएको
मधेश प्रदेशमा सरकार फेरबदलको सरगर्मी तीव्र, ६२ सांसदको समर्थन जुट्यो

काठमाडौं, २१ वैशाख। मधेश प्रदेश मा राजनीतिक सरगर्मी तीव्र बनेको छ। यसै हप्ताभित्र सरकार परिवर्तन हुने संकेत देखिएसँगै नयाँ समीकरण बनाउन दलहरू सक्रिय भएका छन्।

उच्च स्रोतका अनुसार नेपाली कांग्रेस लाई बाहिर राखेर नयाँ सरकार गठन गर्ने सहमति लगभग जुटिसकेको छ। हालका मुख्यमन्त्री कृष्ण प्रसाद यादव लाई पदच्यूत गर्ने तयारी अन्तिम चरणमा पुगेको बताइएको छ।

नयाँ बन्ने सरकारमा नेकपा एमाले को पुनरागमन हुने देखिए पनि नेतृत्व भने अन्य दलले गर्ने स्रोतको दाबी छ। त्यस्तै जनता समाजवादी पार्टी नेपाल र जनमत पार्टी नयाँ गठबन्धनमा समेत रहने निश्चित जस्तै भएको छ।

प्रदेशसभामा हाल १०० जना सांसद सक्रिय रहेका छन्, जसमा सरकार गठनका लागि कम्तीमा ५४ सांसद आवश्यक पर्छ। स्रोतका अनुसार जसपा नेपाल (२६), एमाले (२४) र जनमत पार्टी (१२) गरी ६२ सांसदको समर्थनमा नयाँ सरकार गठनको गृहकार्य अघि बढिसकेको छ।

यसैबीच नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी ले एमाले सहभागी सरकारमा नजाने स्पष्ट धारणा बनाएका छन्। साथै कांग्रेसभित्रैबाट पनि मुख्यमन्त्री यादवविरुद्ध असन्तुष्टि बढ्दै गएको छ।

हालको सरकारमा कांग्रेस, जसपा, लोसपा, माओवादी केन्द्र, नेकपा एस र जनमत पार्टी सहभागी भए पनि अब बन्ने नयाँ सरकारमा कांग्रेस, माओवादी र नेकपा एस बाहिर रहने देखिएको छ।

मुख्यमन्त्री यादवमाथि पाँच महिनाको कार्यकालमा कुनै उल्लेख्य काम गर्न नसकेको, भ्रष्टाचार र कमिसनमुखी प्रवृत्ति बढाएको आरोप लाग्दै आएको छ। प्रदेशमा विकास निर्माण कार्य ठप्पजस्तै भएको, बजेट निर्माण प्रक्रिया सुरु हुन नसकेको र बिचौलियाको प्रभाव बढेको आरोप समेत उठेको छ।

मधेश प्रदेशमा दोस्रो कार्यकालयता पाँच पटक मुख्यमन्त्री परिवर्तन भइसकेको छ, जसले प्रदेशको राजनीतिक अस्थिरता र विकासमा परेको प्रभावलाई झन् स्पष्ट बनाएको छ।

 

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस