
वीरगञ्ज , २७ चैत। मध्यरातमा पर्सा प्रहरीले वीरगञ्जका क्यासिनोहरूमा आकस्मिक छड्के अनुगमन गरेको छ। वडा प्रहरी कार्यालय विर्ता र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त टोलीले शहरका प्रमुख किङ क्यासिनो, सुरज होटल क्यासिनो र सरुबर पोटिका क्यासिनोमा एकैपटक विस्तृत जाँच संचालन गरेको हो।
अनुगमनका क्रममा क्यासिनो परिसर, खेल क्षेत्रदेखि प्रवेशद्वारसम्म विशेष निगरानी गरिएको प्रहरीले जनाएको छ। उक्त जाँचको मुख्य उद्देश्य नेपाली नागरिकको क्यासिनो प्रवेश निषेधसम्बन्धी कानुनको कार्यान्वयन अवस्था बुझ्नु र सम्भावित अवैध गतिविधि नियन्त्रण गर्नु रहेको थियो।
प्रहरीका अनुसार अनुगमनका क्रममा कुनै पनि नेपाली नागरिक क्यासिनोभित्र फेला परेका छैनन्। यसले क्यासिनो सञ्चालकहरूले नियमहरूको पालना गरिरहेको प्रारम्भिक संकेत दिएको प्रहरीको भनाइ छ।
पर्सा प्रहरीले यस्ता छड्के अनुगमनलाई निरन्तरता दिने बताएको छ, जसले कानुन कार्यान्वयनमा थप प्रभावकारिता ल्याउने विश्वास व्यक्त गरिएको छ।
