लिपुलेक विवादमा भारतको कडा आपत्ति, नेपालको दाबी अस्वीकार

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख २१, सोमबार (३ घण्टा अघि)
  • ४४ पटक पढिएको
लिपुलेक विवादमा भारतको कडा आपत्ति, नेपालको दाबी अस्वीकार

काठमाडौं, २१ वैशाख। भारत सरकारले लिपुलेक पास र कैलाश मानसरोवर यात्राबारे नेपालले उठाएका सीमासम्बन्धी दाबीहरूलाई अस्वीकार गरेको छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले शुक्रवार राति विज्ञप्ति जारी गर्दै नेपालको दाबी ‘अनुचित’ र ‘ऐतिहासिक तथ्यमा आधारित नभएको’ जिकिर गरेका छन् ।

नेपालले आइतबार साँझ दिएको प्रतिक्रियाको जवाफ दिँदै प्रवक्ता जयसवालले लिपुलेकका बारेमा भारतको अडान स्पष्ट र सुसङ्गत रहेको दाबी गरे ।

‘लिपुलेक पास सन् १९५४ देखि नै कैलाश मानसरोवर यात्राका लागि प्रयोग हुँदै आएको पुरानो मार्ग हो । दशकौँदेखि यो मार्गबाट यात्रा भइरहेको छ, यो कुनै नयाँ घटनाक्रम होइन,’ विज्ञप्तिमा भनिएको छ ।

नेपालको चुच्चे नक्सा र लिम्पियाधुरा, लिपुलेक क्षेत्र, कालापानीको भूमि दाबीलाई भारतले ‘एकतर्फी’ र ‘कृत्रिम’ विस्तारको संज्ञा दिएको छ । यी क्षेत्रमा नेपालको दाबी ऐतिहासिक तथ्य र प्रमाणद्वारा पुष्टि हुन नसक्ने र यो मान्य नहुने भारतको अडान छ ।

यद्यपि, जयसवालले नेपालसँगको द्विपक्षीय सम्बन्ध र सीमा सम्बन्धी विवाद समाधानका लागि संवादको ढोका भने खुला रहेको बताएका छन् ।

भारतीय वक्तव्यमा केही भू–भाग सम्बन्धी नेपालका दाबीहरू ऐतिहासिक तथ्य र प्रमाणमा आधारित नभएको भन्दै त्यस्ता एकतर्फी दाबी अस्वीकार्य रहेको जनाइएको छ ।

भारतले द्विपक्षीय सम्बन्धका सबै विषयहरूमा, विशेष गरी सीमा विवाद समाधानका लागि, संवाद र कूटनीतिमार्फत नेपालसँग रचनात्मक छलफल गर्न तयार रहेको पनि स्पष्ट पारेको छ ।

नेपालको भूमि लिपुलेक हुँदै भारत–चीन आवतजावत गर्ने मार्ग सञ्चालन भएकोप्रति आइतबार साँझ परराष्ट्र मन्त्रालयले ६ बुँदे प्रेस नोट जारी गरेको थियो ।

 

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस