
बारा, ०७ वैशाख। बाराको सिम्रौनगढ नगरपालिका–६, सानो इटवालमा छाडा कुकुरको आक्रमणले एक किसानको गोठ नै रित्तिएको छ। आइतबार राति खोर तोडेर भित्र पसेका कुकुरको समूहले स्थानीय किसान नाजिर हुसैन “भोटू” अंसारीका ८ वटा खसीबाख्रा मारेपछि क्षेत्रमा त्रास फैलिएको हो।
पीडित अंसारीका अनुसार कुकुरहरूले २५ देखि ३० केजी तौलका २ वटा खसी, २ वटा बाख्रा र ४ वटा पाठापाठी गरी जम्मा ८ वटा पशु मारेका हुन्। यस घटनाबाट करिब एक लाख रुपैयाँ बराबरको क्षति भएको उनले बताए। बिहान गोठमा मृत अवस्थामा रहेका पशु देखेपछि आफूहरू स्तब्ध बनेको उनको भनाइ छ।
यसअघि पनि सिम्रौनगढका विभिन्न स्थानमा छाडा कुकुरको आक्रमणबाट पशुचौपाया मरेका घटनाहरू सार्वजनिक हुँदै आएका छन्। लगातार यस्ता घटना दोहोरिन थालेपछि स्थानीयवासी आफ्नो पशुधनको सुरक्षाप्रति चिन्तित बनेका छन्।
“पशुधन त क्षति भयो, अब बालबालिकालाई घरबाहिर पठाउन पनि डर लाग्ने अवस्था आएको छ,” अंसारीले भने। टोलटोलमा झुण्डका झुण्डमा घुम्ने छाडा कुकुरका कारण किसानको मेहनत एकै रातमा नष्ट हुँदा पनि सम्बन्धित निकायले ध्यान नदिएको स्थानीयको गुनासो छ।
छाडा कुकुर व्यवस्थापनको जिम्मेवारी पाएको नगरपालिका निष्क्रिय रहेको आरोप लगाउँदै स्थानीयवासीले वन्ध्याकरण, नियन्त्रण र सुरक्षात्मक उपाय तत्काल लागू गर्न माग गरेका छन्।
छाडा कुकुरको बढ्दो संख्याका कारण सिम्रौनगढ क्षेत्रको जनजीवन असुरक्षित बन्दै गएकाले समयमै नियन्त्रण नगरिए यस्ता घटना अझ बढ्ने स्थानीयको चेतावनी छ।
