सिरहामा अपराध नियन्त्रणमा प्रहरी सक्रिय, दुर्घटनाले बढायो चुनौती

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र ४, बुधबार (१ महिना अघि)
  • ८७ पटक पढिएको
सिरहामा अपराध नियन्त्रणमा प्रहरी सक्रिय, दुर्घटनाले बढायो चुनौती

सिरहा, ०४ चैत। जिल्ला प्रहरी कार्यालय सिरहाले फागुन महिनाभर अपराध नियन्त्रण, शान्ति सुरक्षा र सेवा प्रवाहमा उल्लेखनीय सक्रियता देखाएको जनाएको छ ।

प्रहरीद्वारा सार्वजनिक प्रेस विज्ञप्तिअनुसार उक्त अवधिमा विभिन्न क्षेत्रमा कार्यसम्पादन प्रभावकारी देखिएको छ । फागुन महिनामा कुल ७४ वटा विभिन्न प्रकृतिका अपराधसम्बन्धी मुद्दा दर्ता भएका छन् । ज्यानसम्बन्धी, चोरी, सवारी, आर्थिक तथा सामाजिक अपराधका घटनामा वृद्धि भए पनि तिनको अनुसन्धान तथा नियन्त्रणमा प्रहरीले तीव्रता दिएको जनाएको छ । यस क्रममा २३ जना प्रतिवादी पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी रमेश बहादुर पालका अनुसार अदालतका फैसला कार्यान्वयनतर्फ पनि उल्लेखनीय प्रगति भएको छ । फागुन महिनामै १ हजार २१७ मुद्दा कार्यान्वयन गरिएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सुरक्षामा पनि प्रहरीको ध्यान केन्द्रित रहेको छ । हराएका ५३ जनामध्ये ९ जना फेला पारिएका छन् भने घरेलु हिंसाका ५४ उजुरीमध्ये १४ वटा मिलापत्रमार्फत समाधान गरिएको छ ।

लागुऔषध नियन्त्रण अभियान पनि प्रभावकारी देखिएको छ । यस अवधिमा ८ वटा मुद्दा दर्ता गरी १३ जनालाई पक्राउ गरिएको छ । प्रहरीले ब्राउन सुगर, डाइजेपाम, नाइट्राजेपाम लगायतका लागुऔषध बरामद गरेको जनाएको छ ।

शान्ति सुरक्षालाई सुदृढ बनाउन फागुन महिनामा ८ हजार ७० पटक गस्ती सञ्चालन गरिएको छ । साथै मेला, पर्व, विरोध प्रदर्शन तथा विशेष परिस्थितिमा समेत सुरक्षा व्यवस्थापन गरिएको उल्लेख छ ।

तर सवारी दुर्घटनाको अवस्था भने चिन्ताजनक देखिएको छ । फागुन महिनामा ६९ वटा सवारी दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने १०९ जना घाइते भएका छन् ।

ट्राफिक कारबाहीमार्फत ७ लाख ८२ हजार ५०० रुपैयाँ जरिवाना संकलन गरिएको छ । दुर्घटनाको प्रमुख कारण चालकको लापरवाही रहेको प्रहरीको विश्लेषण छ ।

विपद् व्यवस्थापनतर्फ २५ वटा घटना दर्ता भएका छन् । ती घटनामा २ जनाको मृत्यु र ९ जना घाइते भएका छन् भने करिब ३१ लाख ८१ हजार रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।

त्यसैगरी, भन्सार छली नियन्त्रणबाट ७४ हजार ६७४ रुपैयाँ बराबरका सामान बरामद गरिएको छ भने प्राकृतिक स्रोत दोहन नियन्त्रणमार्फत १ लाख रुपैयाँ जरिवाना असुल गरिएको छ ।

प्रहरीले समुदाय तथा विद्यालय लक्षित सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै लागुऔषध दुरुपयोग, घरेलु हिंसा, ट्राफिक नियम पालना तथा आत्महत्या न्यूनीकरणमा जनचेतना अभिवृद्धि गरेको जनाएको छ ।  फागुन महिनाभर हटलाइन तथा अन्य सम्पर्क नम्बरमा ८ हजार ९ कल प्राप्त भएका छन् भने ७०३ जना सेवाग्राहीले सेवा लिएका छन् ।

जिल्ला प्रहरी कार्यालय सिरहाले आगामी दिनमा अपराध नियन्त्रण, नागरिक सुरक्षा र सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस